सूचनाको शक्ति - The Power Of Information

        

अपाङ्गता भएका दुई महिलाले घरमै पाए नागरिकता

लमजुङ । जिल्ला सदरमुकाम रहेको बेसीशहर नगरपालिका–१० का अपांगता भएका दुई महिलालाई घरमै नागरिकता प्रदान गरिएको छ । अपांगताका कारण जिल्ला प्रशासन कार्यालयसम्म आउन नसक्ने उनीहरुलाई कार्यालयको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेको हो ।

घडेरीकी ४१ वर्षीया सन्तमाया तामाङ र बेसी भाचोककी २३ वर्षीया कृष्णा घिमिरेलाई नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए । शनिवार प्रजिअ शर्मा सहितको टोली घिमिरे र तामाङको घरमा पुगेको थियो ।

विविध कारण जिल्ला प्रशासन कार्यालयसम्म आएर नागरिकता लिन नसक्ने अवस्थाका नागरिकलाई वडा कार्यालयको समन्वयमा घरमै पुगेर नागरिकता वितरण लगायतका सेवा प्रवाह गर्दै आएको प्रजिअ शर्माले बताए ।

२०३७ सालमा जन्मिएकी सन्त र २०५४ सालमा जन्मिएकी कृष्णा शारीरिक रुपमा अशक्त भएको जानकारी आएपछि वडा अध्यक्ष पूर्णबहादुर थापाको समन्वयमा शनिबार भए पनि नगारिकता प्रदान गर्न प्रजिअसहितको टोली उनीहरुको घरमै पुगेको हो ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतवार ०८:१५