काठमाडौं । कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन अपील गरेको छ ।
सीसीएमसीको शनिवार बसेको बैठकले पछिल्लो समय कोभिड सङ्क्रमणको ग्राफ बढेको र नयाँ भेरियन्ट समेत देखा परेको भन्दै सतर्कता अपनाउन राष्ट्रिय रुपमा अपील गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालले बैठकमा अहिलेको सङ्क्रमणको स्थिति र तयारीको विषयमा छलफल भइ आमरुपमा सतर्कता अपनाउन अपील गर्ने निर्णय भएको बताउनुभयो । यसबाहेक जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई अझ बढी सक्रिय बनाउने निर्णय पनि गरेको छ ।
सीमानाकाहरुमा सञ्चालनमा आएका हेल्थ डेस्कहरुलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेष्टलाई बढाउने, कोभिड सङ्क्रमण भएर लक्षण देखा परेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वरेण्टीनमा राख्ने काम गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यसबाहेक कुनै पनि क्षेत्रबाट स्वास्थ्य मापदण्ड पालना नभइ अटेरी रुपमा सञ्चालनमा आएको पाइए कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने पनि सचिव बरालले बताउनुभयो ।
।