बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा रहेको दुधगिरी पर्वतमा बर्फानी बाबा आश्रम धार्मिक पर्यटनको केन्द्र बन्न थालेको छ । नरैनापुर गाउपालिकाको प्रशासकीय भवनबाट उत्तरतर्फ जंगलको बाटो हुँदै करिब १३ किलोमिटर मोटरसाइकल वा साइकलको यात्रा तय गरेपछि पुगिन्छ चुलियामाई ।
नरैनापुरबाट उत्तरतर्फ गोग्लीमा रहेको बाबा बर्फानीको कुटीबाट करिव १३ किलोमिटर जंगलको बाटो खोला खोल्साको किनारै किनार हिँडेर चुलियामाई पुगेपछि जंगलमै आफ्नो साधन छाडेर बर्फानी बाबाको आश्रम जान सकिन्छ । उकालो लागेपछि खाने पानीको अभाव हुने तथा माथि आश्रममा पनि पानी तलबाटै लैजानुपर्ने भएकोले आश्रम दर्शन गर्न जाने श्रद्धालुले तलबाटै आफुले खानेपानीको जोहो गरेर पुग्नुपर्ने बाध्यता छ ।
चुलियामाईमा आफ्नो साधन मोटरसाइकल वा साइकल राखेर भक्तजनले आफ्नो भाकलको लागि बन जंगलमा रहेको बाब्बियो उखेलेर रुखमा बाँधेर चुलियामाईमा दाउरा चढाउँदै करिव एक घण्टा पैदल हिँडेर पुगिन्छ, दुधगिरी पर्वतमा रहेको बर्फानी बाबा आश्रममा । यो आश्रम रहेको अग्लो चुचुरोेमा शिवजीको मन्दीर रहेको छ । हेर्दा ठूलो ढुंगामा चुलोको आकृति बनेको छ ।
यसलाई ‘चुलिया माई’ भन्दै दाउरा चढाउदै दुधगिरी पर्वतको उकालो उक्लने गरिन्छ । दुधगिरी पर्वतमा रहेको बर्फानी बाबा आश्रम र शिव मन्दीरमा नरैनापुर गाउँपालिकाबासी मात्र नभएर नेपालका अन्य जिल्ला तथा भारतका विभिन्न स्थानबाट समेत मानिसहरु धार्मिक आस्था राखेर आउने गरेका छन् । करिव एक घण्टा उकालो हिँडेपछि पुगिन्छ बर्फानी बाबा आश्रम रहेको दुधगिरी पर्वतको चुचुरोमा ।
दुधगिरी पर्वत र चुलियामाईका बारेमा जानकारी गराउँदै नरैनापुरका स्थानीय तथा पूर्व नरैनापुर गाविसका अध्यक्षसमेत रहेका रामानन्द शर्माले पछिल्लो समय बर्फानी बाबा आश्रम दर्शनका लागि जानेको घुइँचो लाग्ने गरेको बताए । उनले भने, ‘यहाँ आउने मानिसहरुले चुलोमा दाउरा चढाउँदै उकालोे उक्लने चलन रहेको छ । कसैको भाकल छ भने आफुले भाकल गर्नको लागि वरिपरीको भीरमा रहेको बाब्बियो उखलेर रुखमा बाँध्ने र भाकल पुरा भएपछि खोल्ने चलन छ ।’
को हुन बर्फानी बाबा ?
करिब २५ वर्षअघि भगवान शिवको खोजीमा तपस्या गर्दै दुधगिरी पर्वतमा आएको बताउँछन् बर्फानी बाबा । काभ्रेको भण्डारी परिवारमा जन्म लिएको उनले आफु भगवान शिवको भक्त रहेको र शिवजीको खोजी गर्दै आउदा भेटेको गन्तब्यको रुपमा दुधगिरी पर्वतलाई रोजेर बसेको बताउँछन् । उनले हाल दुधगिरी पर्वतमा गौशाला निर्माण गरी करिव २५० गाईको अझै पनि संरक्षण गर्दै आइरहेका छन् ।
बर्फानी बाबाले गौ रक्षाको लागि आफ्नो चिन्ता केन्द्रीत भएको बताउदै तपोभूमिको रुपमा रहेको दुधगिरी पर्वतमा गुरुकुल, धर्मशाला तथा योगीको लागि कुटी लगायतका धेरै पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताए । दुधगिरी पर्वतको महत्व धार्मिक तथा तपोभूमिको रुपमा रहेको जानकारी दिँदै समग्र मानवजातीको कल्याणको लागि स्थापना भएको बर्फानी बाबाले बताए ।

नरैनापुर–३ गेग्लीबाट जंगलको कच्ची बाटोमा खोला नाला हुँदै अग्लो डाँडा दुधगिरी पर्वतमा बाबाको आश्रम छ । अनकन्टार जंगल र ठाडो भीरमा रहेको शिवजीको मन्दीरको संरक्षण र सम्वद्र्धनका लागि आउने भक्तजनसँग हारगुहार गर्दै बर्फानी बाबाले माथि दुधगिरी पर्वतको चुचुरोेसम्म पुग्ने बाटो, बिद्युत, खानेपानी, गौशाला, गुरुकुल, शन्तहरुको लागि कुटी र धर्मशालाको निर्माण गर्न अत्यन्तै आवश्यक रहेको बताए ।
उनले नरैनापुरकै गोग्लीमा रहेको कुटी तथा गौशालाको संरक्षणमा स्थानीय, प्रदेश र केन्द्र सरकारको ध्यान जानुपर्ने बताए । देवघाटबाट दुधगिरी आश्रममा आइपुगेका आफुलाई बाबा बर्फानीका अनुयायी बताउने महाविर नाथ योगीले दुधगिरी पर्वत साच्चिकै तपोभूमिको रुपमा रहेको बताउदै यहाँको विकासको लागि खानेपानी र गौशाला, धर्मशाला लगायतको निर्माण गरे सबै पुग्नसक्ने बताबरण तयार गर्नुपर्ने बताए ।
स्थानीय र प्रदेश सरकारको चासो
बाँकेको नरैनापुर गाउँपालिकामा रहेको बर्फानी बाबा आश्रमलाई लुम्बिनी प्रदेश सरकारले धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्न सम्भाव्यता अध्ययन सुरु गरेको छ । लुम्बिनी प्रदेश सरकारले नरैनापुर गाउँपालिकाको समन्वयमा प्राविधिक टोलीसहित बर्फानी बाबा आश्रमको निरीक्षण गरेर सो क्षेत्रको विकासको लागि ‘डीपीआर’ निर्माणको काम थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले बताए ।
राप्तीसोनारी र नरैनापुरको लेक (अग्लो डाँडो)लाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न प्रदेश सरकारले बजेटसमेत विनियोजन गरेको छ । यस क्षेत्रको विकासका लागि तत्कालीन र दीर्घकालीन योजना निर्माण गरेर विकास गर्ने प्रदेश सरकारको लक्ष छ । प्रदेश सरकारले यो क्षेत्रको विकासको लागि दुई करोड रुपैयाँ विनियोजन गरेको छ । बर्फानी बाबा आश्रमको विकासका लागि प्राविधिक टोलीले पनि अध्ययन गरिसकेको छ ।
दुधगिरी पर्वत, गाईलेकमा हेलिप्याड र केबलकार, भ्यू टावर निर्माण गरी धार्मिक पर्यटनको बिकासको लागि पहल भइरहेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिए । उनले आन्तरिक र बाह्य धार्मिक पर्यटकका लागि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी तयारी अघि बढाइएको बताए । दुधगिरी पर्वतमा रहेको बाबा बर्फानी आश्रम अग्लो शिखरमा छ ।
चारैतिर हेर्दा असाध्यै रमणीय र मनमोहक ठाउँ छ । मनै प्रफुल्ल बनाउने वातावरण रहेको कारणले पनि गोग्लीमा रहेको बाबा बर्फानी आश्रम र दुधगिरी पर्वतमा रहेको आश्रमलाई संरक्षण संगै धार्मिक पर्यटन क्षेत्रको रुपमा विकाय गर्ने गरी तयारी गरिएको नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत शाहीले बताए । सो क्षेत्रको डिपिआर तयार गर्न काठमाडौंको एमके कन्सल्टेन्ट एण्ड कन्स्ट्रक्सन प्रालिले एरियल सर्भे गरेको छ ।
दुधगिरी पर्वतलाई धार्मिक पर्यटनको रुपमा विकास गर्नसके यसले नरैनापुरको विकासका लागि पनि ठूलो योगदान दिने अपेक्षा गरिएको छ । गेग्लीबाट चुलिया माईसम्मको बाटोको मर्मत गर्ने र विभिन्न स्थानमा पिउने पानीको व्यवस्था गर्न धार्मिक पर्यटकको संख्यामा वृद्धि हुने प्रमुख प्रशासकीय अधिकृत शाहीले दावी गरे । उनका अनुसार श्रद्धालुहरु दुधगिरी पर्वत पुगेर धार्मिक तथा रमणीय आनन्द लिन सक्ने देखिन्छ ।
।