सूचनाको शक्ति - The Power Of Information

        

नेपाल पत्रकार महासंघ निर्वाचन

तीन हजार मतान्तरले विपुल प्यानल विजयी

काठमाडौं । नेपाल पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल विजयी भएको छ । निर्वाचन समितिकाअनुसार महासंघको अध्यक्षमा प्रेस युनियन गठबन्धनका उम्मेदवार विपुल पोखरेल तीन हजार मतान्तरले पूरै प्यानलसहित निर्वाचित भएका छन् ।

पोखरेलले ६ हजार ९४२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्माले ३ हजार ९१५ मत प्राप्त गरेकी छन् । अध्यक्षका अर्का प्रत्यासी गजेन्द्र बुढाथोकीले ६९१ मत प्राप्त गरेका छन् ।

महासंघको चुनावमा कांग्रेस, माओवादी, एमालेको माधव नेपाल पक्ष, राष्ट्रिय जनमोर्चासहित ११ वटा दल आबद्ध पत्रकारहरु गठबन्धन बनाएर लडेका थिए । सो गठबन्धनको प्यानलबाट केन्द्रीय कार्य समितिमा तीन सदस्यबाहेक सबैले जितेका छन् ।

जितपछि पोखरेलले महासंघको निर्णय प्रक्रिया र नीति निर्माणमा दलीय प्रभाव पर्न नदिने प्रतिबद्धता जनाएका छन् । शनिबार सबै जिल्लाको मतगणना सकिएको र आफ्नो जित भएपछि विजय जुलुस मनाउँदै नवनिर्वाचित अध्यक्ष पोखरेलले महासंघका कुनै पनि कुरामा दलीय एजेण्डाको प्रभाव पर्न नदिने बताए ।

श्रमजीवी पत्रकारहरुको हक हितका मुद्दाहरूलाई अगाडि लैजाने सम्बन्धमा आफूले कहीँ कतै सम्झौता नगर्ने प्रतिबद्धता पनि जनाए । नवनिर्वाचित उपाध्यक्ष रमेश विष्टले पनि पत्रकार महासंघमा दलीय छायाँ पर्न नदिने प्रतिबद्धता जनाए । महासंघलाई पत्रकारहरुको साझा चरित्रको संस्थाको रुपमा विकास गर्ने पनि बताए ।

अध्यक्षमा नेकपा एमालेको ओली समूहनिकट प्रेस चौतारी, जनता समाजवादी निकट प्रेस मञ्च, विप्लव निकट जनपत्रकार संघ लगायतको प्यानलबाट निर्मला शर्माको उम्मेदवारी थियो । त्यसबाहेक गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार १८:२३