सूचनाको शक्ति - The Power Of Information

        

झापा र गुल्मीमा सवारी दुर्घटनामा दुईको मृत्यु

काठमाडौं । झापाको बुद्धशान्ती गाउँपालिका ३ मा हिजो बेलुकी बोलेरो जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मेची राजमार्गमा मे १ च ६४१३ नम्बरको बोलेरो जीपले पैदल हिंडिरहेका अन्दाजी ४१ वर्षीय पुरुषलाई हिजो बेलुकी सवा आठ बजे ठक्कर दिएको थियो ।

घाइतेलाई उपचारको लागि विर्तामोडमा रहेको बी एण्ड सी अस्पताल पठाइएको र उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ । जीप सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता, गुल्मीको गुल्मी दरवार गाउँपालिका ७ घुम्टीमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गैंडाकोटबाट चारपालातर्फ जाँदै गरेको लु २३ प ५०६७ नम्बरको मोटरसाइकल हिजो बेलुकी ७ बजे अनियन्त्रित भइ सडकबाट करिब ३ मिटर तल खाल्डोमा खस्न पुगेको थियो ।

दुर्घटनामा घाइते भएका स्थानीय ४५ वर्षीय राम बहादुर खत्रीलाई उपचारको लागि जिल्ला अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको प्रहरी चौकी चारपालाले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार ०९:२७