सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहमा बेथिति

डुडुवामा ‘पाहुना’ हाकिम, ‘कर्मचारीको मनमौजी, सेवाग्राहीलाई सास्ती’

प्रमूख प्रशासकीय अधिकृत उपाध्याय ‘पाहुना’ आएझैं कार्यालयमा आउने–जाने गरेको धेरैको गुनासो छ ।

फाइल तस्वीर

बाँके । नेपालगन्ज उपमहानगरपालिकासँग जोडिएको बाँकेको डुडुवा गाउँपालिका सबैखाले सुविधायुक्त छ । गाउँपालिकाको कार्यालय नेपालगन्जबाट झण्डै सात किलोमिटरको दुरीमा पर्छ । हाकिम अर्थात् प्रमूख प्रशासकीय अधिकृतको निवास नेपालगन्जमा छ । गाउँपालिका कार्यालयदेखि हाकिमको निवासमा आउजाउका लागि पालिकाले सुविधा सम्पन्न गाडीको व्यवस्था गरेकै छ ।

हाकिमका लागि चाहिने सबै सुविधा दिँदादिँदै पनि डुडुवा गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत परसुराम उपाध्याय भने नियमित कार्यालयमा हाजिर हुँदैनन् । हाजिर भइहाले पनि दिउँसो २ बजेभन्दा अघि उनी कार्यालय पुग्दैनन् । आक्कलझुक्कल कार्यालय पुग्ने उनी कार्यालय नगएको दिनको हाजिर पनि गरिहाल्छन् । उनलाई डुडुवाका नागरिकहरुले ‘पाहुना’ हाकिमसमेत भन्ने गरेको छन् ।

सातामा दुई–तीन पटक मात्रै कार्यालय आएर एकैपटक धेरै दिनको हाजिर गर्ने प्रमुख प्रशासकीय अधिकृत उपाध्यायका कारण सेवाग्राहीलाई सास्ती भएको छ भने कार्यालयका कर्मचारीको मनमौजी चल्ने गरेको छ । ‘उपाध्याय सर नियमित कार्यालय आउनुहुन्न, आएपछि गयल दिनको पनि हाजिर गरेरे जानुहुन्छ,’ एक जना कर्मचारीले भने, ‘हाकिम सा’ब नहुँदा सेवाग्राहीलाई निकै सास्ती भएको छ, तर हामीले केही गर्न सक्ने अवस्था छैन ।’

कार्यकारी नियमित नआउँदा सेवाग्राही मर्कामा परेका छन् । नाम नबताउने सर्तमा पालिकामा भेटिएका एक जना स्थानीयले काम लिएर हप्तामा तीनपटक आउँदा एकपटक मुश्किलले कार्यकारी भेटिने गुनासो गरे । उनले भने, ‘हाकिमको कुर्सी सधैं खाली हुन्छ । काम परेरै आउँदा पनि कार्यालयमा भेटिनुहुन्न, प्रशासकीय अधिकृत खोई भनेर सोध्दा अरू कर्मचारी रिसाउँछन् । एकैछिनमा हुने काम हप्तौसम्म कुनुपर्ने अवस्था छ ।’

सामान्य कामका लागि विहान ९ बजेदेखि कार्यालयमा कर्ने गरे पनि हाकिम अनुपस्थित हुँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको पालिकाका कर्मचारीहरुले नै बताउँदै आएका छन् । एक जना कर्मचारीले भने, ‘कार्यालयका कागजात र निर्णयमा हामीले हस्ताक्षर गरेर हुँदैन, कार्यकारी नियमित कार्यालय नआउँदा काममा बाधा पर्ने गरेको छ ।’ प्रमूख प्रशासकीय अधिकृत उपाध्याय ‘पाहुना’ आएझैं कार्यालयमा आउने–जाने गरेको धेरैको गुनासो छ ।

गाउँपालिकाका एकजना कर्मचारीका भनाइमा, फागुन महिनामा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले ४ दिनको हाजिरीमा रातो लगाएर गयल देखाएका थिए । यति हुँदाहुँदै पनि प्रमूख प्रशासकीय अधिकृत उपाध्याय ‘पाहुना’झैं आफ्नो अनुकूलतामा कार्यालयमा पुगेर कागजातमा सही गरेर घर फर्किन्छन् । निर्णय गर्नुपर्ने काम र हस्ताक्षर गर्नुपर्ने कागजात तयार पारेर अरू कर्मचारीले उनको टेबुलमा राखी दिन्छन् ।

एक जना कर्मचारी भन्छन्, ‘उपाध्याय सरले अफिस आएको बेला रजिष्टरमा हाजिर गरेर फर्किएको गुनासो आइरहन्छ ।’ सेवाग्राही चाहिँ उपाध्याय आउने बाटो हेरेर बसिरहन्छन् । बनकट्टीका एक जना सेवाग्राही भन्छन्, ‘कुन दिन कति बेला आउनुहुन्छ, थाहै हुँदैन । कहिलेकाहीं त कुर्दाकुर्दै दिनै बित्छ । धेरै पटक गाउँपालिकाको कार्यालय आउँदा उपाध्याय सरलाई हामीले भेटेका छैनौं ।’

गाउँपालिकाका ‘कामचोर’ प्रमूख प्रशासकीय अधिकृतका कारण सेवाग्राहीलाई मात्रै होइन कार्यालयको काममा बाधा परेको कर्मचारीहरु नै बताउँछन् । एक जना कर्मचारीले भने, ‘कार्यकारीले गर्नुपर्ने काम धेरै हुन्छ, हस्ताक्षर उहाँकै चल्छ, तर नियमित कार्यालय आएको थाहा छैन ।’ प्रमूख प्रशासकीय अधिकृत उपाध्याय हप्तामा चार दिनभन्दा बढी गाउँपालिका कार्यालयमा भेटिंदैनन् । भेटिए पनि २ बजेभन्दा अगाडी भेट्टाउन सम्भव छैन ।

कर्मचारीहरुका अनुसार विहान ९ बजेदेखि नै सेवाग्राहीहरु हाकिमलाई कुरेर बसेका हुन्छन् । तर हाकिमसा’ब २ बजेअघि कार्यालय छिरेको देखिएको छैन । त्यो पनि सातामा दुई–तीन दिनमात्रै ।’ विहान ९ बजेदेखि पर्खेर बसेका सेवाग्राही प्रमुख प्रशासकीय अधिकृत उपाध्याय २ बजेसम्म पनि नआएकोले आक्रोशित देखिन्थे । ‘हामीले तिरेको कर खाएका कर्मचारीले हामीलाई नै सताउने ?’ एक जना सेवाग्राहीले आक्रोश पोखे ।

उनी मात्र होइन, गाउँपालिकाका सूचना अधिकारीसमेत रहेका शिक्षा शाखा प्रमुख संजय कुमार कर्ण पनि ‘पाहुना’ कर्मचारी हुन् । अझ कार्यालयमा उनको दादागिरी र हेपाहा प्रवृत्तिले सेवाग्राही मात्रै होइन, शिक्षा शाखामा कार्यरत कर्मचारीले समेत सास्ती खेप्नुपरेको छ । प्रमूख प्रशासकीय अधिकृतका विश्वास पात्र मानिएका ऋषि गौतम पनि ‘पाहुना’ कर्मचारी नै भएको कार्यालयका अन्य कर्मचारीहरु बताउँछन् ।

कार्यकारी गाउँपालिका कार्यालय नगएको दिन कर्ण र गौतम पनि अनुपस्थित हुने गरेको गाउँपालिका स्रोतले बतायो । स्रोतका अनुसार कर्ण र गौतम पनि कार्यालय नगएको दिनको हाजिर अर्को दिन हाजिर गर्ने गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत उपाध्यायका कारण सेवाग्राही र राज्यलाई घाटा भएको छ । स्थानीय तहले कर्मचारीको बदमासी नियन्त्रण गर्न नसक्दा कर्मचारीहरुको मनमौजी चल्ने गरेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार ०८:५३