सूचनाको शक्ति - The Power Of Information

        

आहा रारा गोल्डकपको फाइनलमा संकटा र अफ्रिकन रुट भिड्दै

काठमाडौं । पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनल खेल आज हुँदैछ ।

पोखरा रंगशालामा दिउँसो साढे २ बजे सुरु हुने खेलमा संकटा क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ ।

आज दुवै टिम पहिलो पटक प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा हुने छन् । फाइनल अघि हजिो दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन् ।

संकटाका मुख्य प्रशिक्षक सल्यान खड्कीले पाँच पटकको प्रयासमा फाइनल पुगेको बताउँदै टिमको लक्ष्य उपाधि जित्नु रहेको बताउँछन् ।

संकटाले पहिलो सेमिफाइनलमा एपीएफलाई २–० ले हराएर फाइनलमा स्थान पक्का गरेको हो ।

पटक पटक प्रतियोगितामा सहभागिता जनाएपनि संकटा पहिलो पटक फाइनल पुगेको हो । अफ्रिकन रुट पहिलो सहभागितामै फाइनल पुगेको हो ।

अफ्रिकनले दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटासँगको भेट पक्का गरेको हो ।

अफ्रिकनका प्रशिक्षक सिंगे बोरिसले नेपालकै प्रतिष्ठित उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैयाँ हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

व्यक्तिगत विधातर्फ सूर्यबहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार ०८:१९