सूचनाको शक्ति - The Power Of Information

        

नेपाल पत्रकार महासंघ निर्वाचन

नेपाल पत्रकार महासंघ बाँकेमा लोकतान्त्रिक प्यानल बिजयी

बाँके । नेपाल पत्रकार महासंघ बाँके शाखाको अध्यक्ष दामोदर भण्डारीको प्यानल बिजयी भएको छ ।

नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन अन्तर्गत बुधबार भएको निर्वाचनको शुक्रबार बिहान आएको मतपरिणाम अनुसार लोकतान्त्रिक व्यवसायिक श्रमजीवी पत्रकारको संयुक्त प्यानलबाट अध्यक्षमा उठनुभएका दामोदर भण्डारीसहितको प्यानल बिजयी भएको हो ।

भण्डारीले निकटम प्रतिद्धन्दी साझा प्यानलका उम्मेदवार डक्ट प्रसाद धिताललाई १८ मतले पराजित गर्नुभएको हो । जम्मा खसेको मतमध्ये भण्डारीले १ सय ५७ मत प्राप्त गर्नुभएको थियो भने प्रतिद्धन्दी धितालले १ सय ३९ मत प्राप्त गरेको निर्वाचन अधिकृत केशव कोईरालाले जानकारी दिनुभयो ।

यस्तै उपाध्यक्षमा संगीन शर्मा, महिला उपाध्यक्ष करुणा शाह बिजयी हुनुभएको छ । उपाध्यद्धय शर्मा र शाहले प्रतिद्धन्दी सकिल अहमद कादरीलाई ४८ र शाहले प्रतिद्धन्दी रेजिना मल्ललाई १० मतान्तरले पराजित गर्नुभएको हो । शर्माले १ सय ६६ मत, कादरीले ११८ मत तथा शाहले १४९ मत र मल्लले १३९ मत प्राप्त गर्नुभएको थियो ।

महासंघको सचिवमा भने साझा प्यानलबाट सचिवका उम्मेदवार कमल डांगी बिजयी हुनुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक प्यानलका उम्मेदवार क्षेत्रनाथ देवकोटालाई १६ मतले पराजित गर्नुभएको हो । डाँगीले १ सय ५१ मत र देवकोटाले १ सय ३५ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै सहसचिव पदमा (लोकतान्त्रिक)का उम्मेदवार कृष्ण ओली, सहसचिव (समावेशी) हेमन्त चौधरी र कोषाध्यक्ष पदमा बिनोद पौडेल बिजयी हुनुभएको छ । ओलीले प्रतिद्धन्दी महमुद आलम खानलाई ६३ मत, चौधरीले भगतराम थारुलाई ५३ मत र बिनोदले देवेन्द्रराज पौडेललाई ५८ मतले पराजित गर्नुभएको हो ।

यस्तै सदस्यमा लोकतान्त्रिक प्यानलका भिष्म प्रसाद लोध, महिला सदस्यमा सावित्री गिरी, सदस्य मोहम्मद जावेद हलवाई, दिनेश ठाकुर सुनील रेग्मी, जाबेद अहमद साह, खगेन्द्र प्रसाद आचार्य, शौरभ गिरी, निर्मल आचार्य, शंकर लामिछाने बिजयी हुनुभएको छ ।

लोधले १७२, गिरीले १७१, रेग्मीले १६५, हलवाईले १६४, ठाकुरले १५०, साहले १३८, निर्मलले १३८, आचार्यले १३६, शोरभले १३४ मत पाएर बिजयी हुनुभएको हो ।

यस्तै दलित महिला सदस्यमा साझा प्यानलका उम्मेदवार पबित्रा परियारले लोकतान्त्रिक प्यानलका काली बहादुर परियारलाई १० मतले पराजित गर्नुभएको छ । पबित्राले १४२ र कालीले १३२ मत प्राप्त गनुभएको थियो ।

नेपाल प्रेस यूनियन, प्रेस संंगठन, प्रेस चौतारी र प्रगतिशील पत्रकार संघको संयुक्त गठबन्धनको लोकतान्त्रिक व्यवसायीक श्रमजीवी पत्रकारको संयुक्त प्यानलबाट भण्डारी तथा प्रेस चौतारी, प्रेस संगठन, प्रेस मञ्चलगायतको साझा प्यानलबाट अध्यक्षमा डक्टप्रसाद धिताल निर्वाचनमा होमिनुभएको थियो ।

बुधबार भएको निर्वाचनमा झन्डै ९६ प्रतिशत मत खसेको थियो । निर्वाचन अधिकृत केशव कोइरालाका अनुसार कूल मतदाता ३२३ रहेकोमा २ सय ९६ मत खसेको थियो ।

यस्तै महासंघको केन्द्रको नेतृत्व र प्रदेशको नेतृत्वका लागि पनि बाँकेबाट अत्याधिक मत पाएर बिजयी भएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार ०८:३८