सूचनाको शक्ति - The Power Of Information

        

भारतमा एकै दिन १ लाख २६ हजारमा कोरोना

काठमाडौं ।  भारतमा एकै दिन १ लाख २६ हजार जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। यो अहिलेसम्मकै सबैभन्दा उच्च हो।

अहिले भारतमा कोरोनाको दोस्रो लहर चलिरहेको छ। यसअघि पहिलो लहरमा पनि संक्रमितको संख्या यति पुगेको थिएन। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, पहिलो पटक एकै दिनमा १ लाख २६ हजार ३१५ जनामा कोरोना देखिएको हो।

यो संसारमै सबैभन्दा बढी हो। गत २४ घन्टामा ब्राजिलमा ९० हजार र अमेरिकामा ७५ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ।योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड २९ लाख २६ हजार ६१ पुगेको छ।

यसमध्ये सक्रिय संक्रमितको संख्या ९ लाख १० हजार २६२ पुगेको छ। त्यस्तै, पछिल्लो २४ घन्टामा भारतमा ६८४ जनाले ज्यान गुमाएका छन्। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६६ हजार ८९२ पुगेको छ।

भारतमा सबैभन्दा बढी महाराष्ट्रमा ५९ हजार ९०७ जनामा कोरोना पुष्टि भएको छ। संक्रमितहरूमध्ये ३२२ जनाको मृत्यु भएको छ। नेपालसँग सीमा जोडिएकासहित भारतमा १० राज्यमा कोरोना संक्रमण तिव्र रहेको छ।

जसमा महाराष्ट्रसँगै पञ्जाब, दिल्ली, गुजरात, कर्नाटक, तमिलनाडु, केरल, छत्तिसगढ, मध्यप्रदेश र उत्तर प्रदेश रहेका छन्। नेपालसँग जोडिएको उत्तर प्रदेशमा पनि पछिल्लो २४ घन्टामा ५ हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो पछिल्लो १० महीनामा सबैभन्दा बढी हो। त्यस्तै, कोरोनाबाट ३० जनाको मृत्यु भएको छ।

कोरोनाको दोस्रो लहर तिव्र बनेपछि पञ्जाबमा रात्रिकालीन कर्फ्यू लगाइएको छ। राति ९ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेक घरबाहिर निस्कन रोक लगाइएको छ। सबै सभा, समारोह, राजनीतिक कार्यक्रम गर्न बन्देज लगाइएको छ।

त्यस्तै, ओडिसामा रेल बन्द गरिएको छ। निजी कार्यालयमा पनि १०० जनाभन्दा बढी कर्मचारी नबोलाउन निर्देशन दिइएको छ।

मध्यप्रदेश र छत्तिसगढमा दुई साताका लागि बस सेवा बन्द गरिएको छ। गुजरातका प्रमुख २० शहरमा रात्रिकालीन कर्फ्यू लगाइएको छ।

नेपालसँग जोडिएका भारतीय राज्य उत्तरप्रदेशसँगै बिहार, उत्तराखण्ड र पश्चिम बंगालमा पनि कोरोनाको संक्रमण बढ्दै गएको छ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार ०७:५८