सूचनाको शक्ति - The Power Of Information

        

भारत कोरोना संक्रमण हटस्पट बन्दै, एकैदिनमा ९३ हजार भन्दा बढीमा नयाँ संक्रमित थपिए

एजेन्सी । कोरोना संक्रमणको दोस्रो लहरको चपेटामा परेको भारत विश्वमा कोरोना संक्रमण हटस्पट बनेको छ । नयाँ सक्रमितको संख्या यो साता झन उच्च देखिएको छ ।

यहाँ पछिल्लो २४ घण्टामा मात्र ९३ हजार बढी नयाँ कोरोना संक्रमित थपिएका छन् । यसैगरी ५ सय भन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या हाल विश्वमा नै सबैभन्दा उच्च हो ।

नयाँ कोरोना संक्रमणको दैनिक थपिएको संख्याको दरलाई हेर्दा शुक्रबारको तुलनामा भारत अमेरिका र ब्राजिलभन्दा अग्रस्थानमा देखिएको छ । शुक्रबार ८९ हजारमा संक्रमण पुष्टि भएको थियो । ६ महीनायता पहिलो पटक भारतमा सबैभन्दा बढी संक्रमित थपिएका हुन् ।

एक सातामा थपिएका संक्रमितको औषत संख्या पनि भारतमा अन्य देशभन्दा धेरै रहेको छ । भारतमा सबैभन्दा बढी संक्रमण महाराष्ट्रमा देखिएको छ ।

महाराष्ट्रमा एकै दिन झण्डै ५० हजार संक्रमित थपिएका छन् भने २ सय ७७ जनाको मृत्यु भएको छ । महाराष्ट्रसँगै छत्तीसगढ, मध्यप्रदेश र गुजरातमा पनि संक्रमण तीव्र देखिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतवार १०:०६