सूचनाको शक्ति - The Power Of Information

        

न श्रीमती, न सम्पत्ति

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती–८ का एक युवा आफ्नो अंशको जग्गा बेचेको ३१ लाख रुपैयाँ श्रीमतीको खातामा राखेर मलेसिया उडे। रगतपसिनाले साटेर तीन वर्ष अवधिमा १२ लाख रुपैयाँ पठाए।

तर, घर फर्किंदा न त्यो पैसा पाए न त अंश बेचेर ल्याएको सम्पत्ति बाँकी रह्यो। श्रीमती पनि आफ्नो रहिनन्। बरु उनी सम्बन्धविच्छेदको मुद्दा खेपिरहेका छन्।

हालै विदेशबाट फर्किएका ती युवा काठमाडौं जिल्ला अदालत परिसरमा भेटिए। अदालतले घरि सम्पत्ति बुझाउने आदेश गर्छ घरि जग्गा बेचबिखन गरेको प्रमाण ल्याउन भन्छ। काठमाडौं–पनौती आउजाउ गर्ने गाडी भाडासम्म छैन। बेखर्ची अवस्थामा भेटिएका उनी अदालतमा तल–माथि गरिरहेका थिए।

उनले १३ वर्षअघि तेह्रथुम खाम्लालुङकी युवतीसँग बिहे गरेका थिए। श्रीमतीले तीन वर्षअघि एक्कासि विदेश जान आग्रह गरिन्। आफूले ब्युटिपार्लर सिक्न र व्यवसाय गर्ने भनेर श्रीमान्लाई पुख्र्यौली सम्पत्ति बेच्न लगाइन्।

श्रीमतीलाई चाबहिलमा ब्युटिपार्लर खोलिदिएर आफूले मलेसियाको भिसा लगाए। श्रीमतीले कहिले जग्गा खोज्दै गरेको त कहिले बैना गरिसकेको भन्दै पैसा माग्थिन्। उनी कहिले ऋण गरेर पैसा पठाउँथे त कहिले दुई–तीन महिनाको अग्रिम तलब बुझेर।

अन्नपूर्ण

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार ०७:४३