सूचनाको शक्ति - The Power Of Information

        

भारतमा कोरोना भयावह : नाकामा १०५ को मात्रै परीक्षण

काठमाडौं । छिमेकी भारतमा दोस्रो लहरको कोरोना संक्रमण भयावह बन्दै गएपछि नाकामा स्वदेश फर्किने नेपालीको भिड बढ्दै छ । तर, उनीहरू सबैको स्वास्थ्य परीक्षण हुन सकेको छैन । स्वदेश फर्किने १० प्रतिशतको मात्रै परीक्षण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो दुई सातामा कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर, बाँकेको जमुनाह र रुपन्देहीको बेलहिया नाकाबाट मात्रै १७ हजार ४५ जना स्वदेश फर्किएका छन् ।

उनीहरूमध्ये एक हजार ६ सय ९१ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ । जसमा ६८ जनामा संक्रमण देखिएको छ । शुक्रबार मात्रै १६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले गत ६ चैतदेखि तराईका १४ नाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट फर्किनेको स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको थियो । तर, अहिले पाँच नाकामा मात्रै परीक्षणको काम भइरहेको छ ।

बाँकी नाकामा एन्टिजेन परीक्षण नै गरिएको छैन । त्यसकारण भारतबाट फर्किएका संक्रमितको संख्या अझ धेरै हुन सक्ने अनुमान मन्त्रालयको छ । कोरोनाको लक्षण देखिएकाको मात्रै एन्टिजेन परीक्षण भइरहेको छ ।

मन्त्रालयका अनुसार सुदूरपश्चिमका नाकाबाट फर्किएकामा सबैभन्दा धेरै संक्रमण देखिएको छ । त्रिनगर नाकाबाट भित्रिएका ५८ जना र गड्डाचौकी नाकाबाट भित्रिएका पाँचजनामा संक्रमण देखिएको छ ।

त्यस्तै, जमुनाह नाकामा चार र बेलहिया नाकाबाट भित्रिएका एकजनामा संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार भेटिएका १६ जना पनि त्रिनगर नाकाबाट भित्रिएका हुन् ।

नयाँ पत्रिका

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार ०७:३८