सूचनाको शक्ति - The Power Of Information

        

सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि एमालेबाट निलम्बनमा

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि पार्टीबाट ६ महिनाका लागि निलम्बन गर्नुभएको छ ।

पार्टीले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको र नेतृत्वको विरुद्धमा गतिविधि गरेकाले ६ महिनाका लागि पार्टीबाट निलम्बन गर्ने निर्णय भएको पत्र पाण्डे र भुसाललाई पठाइएको छ ।

ओलीले यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बन गरिसक्नुभएको छ । नेपाल र रावललाई जस्तै सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि ओलीले यो सच्चिने अन्तिम मौका भएको र अझै पनि पार्टी तथा नेतृत्वविरुद्ध लाग्ने र समानान्तर गतिविधि गर्न खोजेमा थप कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

स्पष्टीकरणमा आफ्ना गल्तीको आत्मालोचना गर्नुको साटो पार्टीलाई लाञ्छना लगाउने, पार्टी फुटाउने, गुट भेला गर्ने र नेतृत्वविरुद्ध षड्यन्त्र गर्ने क्रियाकलापको समर्थन गरेर आपराधिक मनोवृत्ति देखाएको कारबाही पत्रमा उल्लेख छ ।

पत्रमा भनिएको छ, ‘स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो भुल, त्रुटीको स्वीकारोक्ति नगरेको, कुनै आत्मसमीक्षा नगरिएको, अहङ्कार र आत्मकेन्द्रित प्रवृत्ति प्रस्ट रूपमा देखियो । आफ्नो स्वार्थका लागि देश, नागरिक र पार्टीको हितलाई जस्तोसुकै क्षति पुर्‍याउन तयार भएको आपराधिक मनोवृत्ति प्रस्ट रूपमा देखियो ।’

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार १७:५७