सूचनाको शक्ति - The Power Of Information

        

सितामढीमा फेला परेका युवती र बालिकालाई नेपाल ल्याइयो

महोत्तरी । महोत्तरीको भङ्गाहबाट एकैसाथ हराएका सात युवती तथा  बालिकालाई गएराति नेपाल ल्याइएको छ ।

भङ्गाह नगरपालिकाका मेयर सञ्जिवकुमार साहले दिनुभएको जानकारी अनुसार हिजो भारतको सितामढीमा फेला परेका उनीहरुलाई प्रक्रिया पुर्‍याएर नेपाल ल्याइएको हो ।

आज थप सोधपुछ र अनुसन्धान गरेपछि परिवारको जिम्मा लगाइने पनि उहाँले बताउनुभयो । घटनाको अनुसन्धान गरी दोषी पत्ता लगाउनको लागि सहयोग गर्न उनीहरुलाई मेयर साहको रोहबरमा तत्काल प्रहरीमा नै राख्न परिवारजन सहमत भएको हो ।

​अस्ति मंगलवार घरबाट घाँस काट्न गएका भङ्गाहा नगरपालिका-८ धर्मपुराकी ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान हराएका थिए ।

भारतको सीतामढी प्रहरीले उद्धार गरेपछि उनीहरुले आफूहरु गायिका बन्न हिँडेको बयान दिएका थिए । उनीहरुलाई बाहिर लैजान कसैको संलग्नता भएको हुन सक्ने आशङ्का गरिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार ०८:३३