काठमाडौं । मकवानपुर र चितवनका दुर्गम क्षेत्रका उपभोक्ताले एक प्याकेट नुनको ५० रुपैयाँ तिर्नुपरेको छ ।
मकवानपुरको उतरी पश्चिम क्षेत्रमा पर्ने राक्सिराङ गाउँपालिका ७ का बासिन्दाले प्रतिकिलो नुन ५० रुपैयाँमा किनिरहेका छन् ।
राक्सिराङ ७ गर्लिङकी पसले दुदुमाया तामाङले प्रतिप्याकेट नुन ५० रुपैयाँमा बिक्री गर्दै आएको बताइन् ।
भरतपुरको भण्डारा बजारमा २० रुपैयाँ किलोमा पाइने नुन ढुवानी भाडा बढी भएका कारण ५० परेको उनको भनाइ छ ।
हिउँदका महिनामा गाडीले एक किलाकोे १२ रुपैयाँ र बर्खामा १५ रुपैयाँ ढुवानी भाडा लिने गरेको उनले सुनाइन् ।
बर्खामा भरियाले बोकेर ल्याउने गरेका छन् । भण्डाराबाट गर्लिङ करिब ३० किलोमिटर टाढा पर्छ ।
गर्लिङभन्दा अझ दुर्गमको धिराङका बासिन्दाले प्रतिकिलो नुनको ५५ रुपैयाँसम्म तिर्नुपरेको छ ।
गर्लिङ, दामराङ, धिराङलगायत क्षेत्रमा चेपाङ समुदायको बसोबास छ । कान्तिपुर
।