सूचनाको शक्ति - The Power Of Information

        

तीन दिनसम्म तुवाँलो नहट्ने, घरबाहिर ननिस्कन आग्रह

काठमाडौं । जल तथा मौसम विभागले आगामी तीन दिनसम्म वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलो तत्काल नहट्ने जनाएको छ ।

मनसुनपूर्व हिजोसम्म ज्यादै न्यून वर्षा भएको र यसले मौसममा खासै सुधार नआएको मौसम पुर्वानुमान महाशाखाको भनाइ छ ।

वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भए पनि यही चैत १३ गतेदेखि देशका धेरै स्थानमा असामान्य प्रकारको तुवाँलो लागेको विभागले जनाएको छ ।

हाल मुलुकका धेरै जसो स्थानमा वायुमण्डल स्थिर अवस्थामा रहिरहेकाले प्रदूषणका कणहरु छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिएका कारण असामान्य प्रकारको तुवाँलो लागेको हो ।

देशका धेरै स्थानमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कणहरु वायुमण्डलमा सञ्चित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तुवाँलोका कारण आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या पर्नेजस्ता स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट बच्न आवश्यक कार्यबाहेक घरबाहिर ननिस्कन र निस्कनु परेमा मास्क लगाउन तथा आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अुनरोध गरेको छ ।

विभागले यस अवधिमा खानेपानीको अभाव, आगलागी तथा डढेलो जस्ता समस्याहरु हुन सक्ने विषयमा पनि ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलवार १०:५७