सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा हावाहुरीका कारण लाखौंको क्षति

बझाङ । बझाङ जिल्लामा सोमबार दिउँसो चलेको हावाहुरीले लाखौंको क्षति भएको छ । मयाना खोप केन्द्र राखिएको भवनको पाखो उडाएको छ । जयपृथ्वी नगरपालिका–११ मा रहेको धौल्देव प्राविमा रहेको मयाना खोप केन्द्रको भवनको पाखामा हालेको टिनको छानो उडाएको छ ।

टिन उडाएपछि सेवा प्रभावित हुने धौल्देव प्राविका प्रधानाध्यापक टेक धामीले बताए । त्यस्तै जयपृथ्वी नगरपालिका–३ पडेसमा रहेको जनता आवासको पनि टिनको छानो उडाएको छ । त्यस्तै खप्तडछान्ना गाउँपालिका–७ को गोर्खाली गाउँमा दिउँसो २ बजेदेखि करीब ५ बजेसम्म ३ घण्टा लगातार चलेको हावाहुरीका कारण लाखौको क्षति पुगेको छ ।

गत बर्षमात्रै ३० लाखमा बनेको आलु भण्डारण गर्ने रष्टिक स्टोर भवनको छाना र छानामा प्रयोग गरिएको प्लाइबेट उडाएको छ । रष्टिक भवनको छाना उडाउँदा करीब ६ लाख बराबरको क्षति भएको स्थानीय समाजसेवी मंगलबहादुर खड्काले बताए । गोर्खाली आलु उत्पादनका लागि राम्रो पकेट क्षेत्र हो ।

स्थानीयस्तरमा उत्पादन हुने आलु भण्डारणका लागि बनाएको स्टोरमा हावाले क्षति पुर्याएपछि स्थानीयले तत्काल छाना मर्मतका लागि स्थानीय पालीका तथा सम्बन्धीत निकायसँग अनुरोध गरेका छन् । खप्तडछान्ना गाउँपालिका–७ मै रहेको गोर्खाली आधारभूत विद्यालयको पोषण कार्यक्रमअन्तरगत खाजा पकाउने भान्सा कोठाको टिनको छाना उडाएको छ ।

गाउँमा तरकारी उत्पादनका लागि स्थानीयले बनाएका टनेलहरु उडाएको छ । दिउँसोपख चलेको हावाहुरीले गोर्खाली गाउँका स्थानीय जीवन बोहरा, लालबहादुर बोहरा लगायतका स्थानीयका गोठका छाना उडाएको हो । दिउँसो एक्कासी चलेको हावाहुुरीले १५ लाख बराबरको क्षति भएको स्थानीय मंगलबहादुर खड्काले बताए ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलवार ०७:११