सूचनाको शक्ति - The Power Of Information

        

सुपरिवेक्षक र गणक पदमा साढे तीन हजारको दरखास्त

बझाङ । बझाङ जिल्लाबाट राष्ट्रिय जनगणनाको लागी सुपरिवेक्षक र गणक पदमा ३ हजार ५८१ जनाको दरखास्त परेको छ । जसमा ४७१ जनाको फारम नमिलेर दरखास्त ड्राफ्टमा बसेको जिल्ला जनगणना अधिकारी दिपेन्द्र सिंह धामीले बताएका छन् । गणकमा १ हजार २५५ जना महिला, १ हजार २५५ जना पुरुष र २ जना तेस्रो लिंङ्गीको दरखास्त परेको छ ।

सुपरिवेक्षकमा १२९ जना पुरुष र ३६ जना महिलाको दरखास्त परेको छ । गणक र सुपरिवेक्षक दुबैमा दरखास्त दिने ३०५ जना पुरुष र १२६ जना महिला छन् । जिल्लामा सुपरिवेक्षक ८४ जना र गणक २७६ जनामा आवश्यक भएको अधिकारी सिंह धामीले बताए ।साथै फारम नमिलेर ड्राफ्टमा बसेका दरखास्त दिएकाहरुलाई आफ्नो विग्रेको फारम सच्याएर पुनः भर्नसमेत आग्रह गरेका छन् ।

‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औं राष्ट्रिय जनगणना सुरु हुने भएपछि बझाङ जिल्लामा स्थापना गरिएको जनगणना कार्यालयले गणनालाई प्रभावकारी बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेको छ । सोमबार जिल्लामा आयोजित सचेतना गोष्ठीमा बोल्दै जयवृथ्वी नगरपालिका मेयर विरेन्द्रबहादुर खड्काले जनगणना राज्यको एउटा महत्वपूर्ण पर्व भएकाले यसलाइ आ–आफ्नो क्षेत्रबाट सफल बनाउनमा सहयोग गर्नुपर्ने बताए ।

उनले जनगणना सफल पार्न सञ्चारमाध्यमको भूमिका झन् महत्वपूर्ण हुने भएकाले पत्रकार तथा सञ्चारकर्मीलाई पनि प्रचारमा लाग्न आग्रह गरे । उनले जनगणनाको तथ्याङ्कलाई मिथ्याङ्क हुन नदिन स्थानीय तहको विकास योजना तर्जुमा र स्रोतको पहिचानमा सहयोग पुग्ने बताए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जनगणनालाई गाउँवस्तीसम्म अभियानको रुपमा लिनुपर्ने बताए ।

प्रजिअ अधिकारीले संघियता लागु भएपछिको पहिलो गणना भएकाले स्थानीय तहमा तथ्याङ्क पहिचानका लागि वडादेखि केन्द्रसम्मका योजनाको तर्जुमा गर्नसमेत गणनाले महत्वपूर्ण भूमिका खेल्ने भएकाले कुनै संकोच र दुविधा नराखेर गणकले भर्ने फारममा सहि तथ्याङ्क दिन सबै नागरिकलाई आग्रह गरे ।

जनगणनामा सञ्चारका क्षेत्रहरुलाई तथा गणना गर्ने घरहरुमा रेडियो, टेलिभिजन, पत्रपत्रिका, टेलिफोन लगायतका सञ्चार सामाग्री घरमा भए नभएको प्रश्नावलीहरु समेटिएकाले पत्रकार तथा सञ्चारकर्मीहरु जनगणना कार्यालयप्रति आभारी भएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका अध्यक्ष जगदीस रोकायाले बताए । जनगणनामा घरपरिवारको लगत प्रश्न संख्या २५, मुख्य प्रश्नावली ५५ र सामुदायिक प्रश्नवली समेटिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलवार ०७:०४