सूचनाको शक्ति - The Power Of Information

        

कोभिड हिरो बने ‘नरेश श्रेष्ठ’

बाँके । कोरोना सङ्क्रमणको नियन्त्रण, निदान र उपचारमा बाँकेमा अहोरात्र खटिएका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठलाई कोभिड हिरो घोषित गरिएको छ । गत वर्ष कोरोना सङ्क्रमण अत्याधिक बढेको बेला उनको अत्यधिक सक्रियता थियो ।

बाँकेमा बसेर सङ्क्रमणको नियन्त्रण, निदान, उपचार र समग्र व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गरेका श्रेष्ठलाई सुशासनको क्षेत्रमा काम गर्दै आएको एकाउन्टबिलिटी ल्याबले यस वर्षको कोभिड हिरो घोषित गरेको हो ।

उक्त संस्थाले सुशासन, पारदर्शी र जवाफदेहितामा अब्बल सरकारी कर्मचारीलाई इन्ट्रग्रिटी आइडल घोषणा गर्दै आएको थियो । यसपटक भने कोभिड महामारीका कारण सो नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गर्नेलाई कोभिड हिरो घोषणा गरिएको ल्याबले जनाएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको फोकल पर्सनका रूपमा काम गरेर उनले कोरोनाविरुद्ध आफ्नो ज्यानको बाजी लगाएर दिनरात निस्वार्थ भावले जिम्मेवारी निर्वाह गरेकाले कोभिड हिरो घोषित भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।

नेपालमा कोरोना महामारी फैलिएको समयमा स्वास्थ्य कार्यालय बाँकेमा कार्यरत रहेका श्रेष्ठले कोरोना नियन्त्रणमा अहम् भूमिका निर्वाह गरेको प्रजिअले बताए । सङ्क्रमण एक्कासी बढेपछि बाँकेमा कोरोना परीक्षणदेखि लिएर क्वारेन्टिन, सीमा व्यवस्थापन, आइसोलेसन र कोभिड उपचार वार्डको निर्माण तथा व्यवस्थापनमा श्रेष्ठले अहम् भूमिका निर्वाह गरेका थिए ।

कोभिड हिरो घोषित भएपछि प्रतिक्रिया दिँदै उनले साँच्चिकै सङ्क्रमण धेरै बढेको बेला निकै कष्टकर समय बिताएको स्मरण गर्दै सबैको सहयोग र समर्थनले सङ्क्रमण नियन्त्रणमा खटिएको बताए । उनले अब फेरि केहिले पनि त्यस्ता दुःखद दिनहरू नआउन भन्ने कामना पनि गरे । १३४ जना प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठसहित धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्याय र जलेश्वर अस्पतालका नर्स चण्डिका अधिकारी कोभिड हिरो घोषित भएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतवार १०:२२