सूचनाको शक्ति - The Power Of Information

        

विकास र समृद्धि

हुलाकी सडकले सम्भावनातिर ‘बघौडा’

नेपालगन्जदेखि मात्र ४४ किलोमिटर सडकलाई पार गर्न पूरै दिन खर्च गर्नुपर्ने बाध्यता टरेको छ । हरेक गाउँमा एम्बुलेन्स, चार पाङ्ग्रे र तीन पाङ्ग्रेको सरल आवागमनले विस्तारै राप्तीपारिको आर्थिक सम्भावनालाई बृद्धि गर्दै लगेको छ । तीन वर्ष अघिसम्म नेपालगन्जसम्म आउजाउ गर्न राप्तीपारिका नागरिकलाई भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । सडक असुविधाका कारण अकालमा ज्यान गुमाउनु, एम्बुलेन्स र दमकल पुग्न नसक्नुको त्यो पीडा सडक पुगेसँगै स्थानीयबासी बिर्सिएका छन् । सडक निर्माणको ६० प्रतिशतभन्दा बढि कार्य सम्पन्न भइसकेको अवस्थापछि राप्तीपारिका बासिन्दा त्यस सडकबाट कसरी लाभ लिने सकिन्छ भन्ने ध्याउन्नमा छन् ।

सडक विस्तार भएसँगै नरैनापुर क्षेत्रका स्थानीय बजारहरुमा सेवाग्राहीको चाप र आवागमन बढ्न थालेको छ । विभिन्न डिलरहरु, ब्यवसायिक प्रतिष्ठान, पसलहरु स्थापित हुने क्रम बढेको छ । आर्थिक प्रगतिको प्रतिक्षामा रहेको यो क्षेत्र निकै चाँडै फड्को मार्ने तयारीमा छ । ब्यापार ब्यवसाय र कारोबारका हिसाबले विभिन्न सम्भावनाहरुको खोजी भइरहेको छ । यो क्षेत्र काँचो माटोजस्तै छ, जतिसक्यो यहाँबाट लाभ लिन सकिन्छ । नेपालगन्जको पुष्पलाल चोकदेखि सुइँया बघौडासम्म सडक निर्माण भएपछि स्थानीयहरुका दुख घटेका छन् । सडक नहुँदा नै सबै समस्या थियो, अहिले ती समस्याहरु समाधानतिर अग्रसर छन् ।

वर्षौंदेखि प्रतिक्षारत नेपालगन्ज–बघौडा हुलाकी सडक निर्माण सकिएपछि कारोबारको सम्भावना हेर्दै त्यस क्षेत्रका युवाहरु ब्यवसायतर्फ सक्रिय हुन थालेका हुन् । २०४८ देखि निर्माण हुने भनिएको सडक सन् २०११ मा सम्झौता भएर निर्माण कार्य अघि बढेको थियो । गाउँलाई नेपालगन्जसम्म जोड्न नेपालगन्ज–बघौडा हुलाकी सडकलाई राप्तीपारिको मेरुदण्डकै रुपमा मानिएको छ । स्थानीयहरु ब्यवसाय र रोजगारको सम्भावनातर्फ आकर्षित देखिएका छन् । कारोबार र रोजगारको सम्भावना बढेका छन् । हुलाकी सडक छेउमा जग्गा किन्नेहरुको बढ्दैछन् । भविष्यमा ब्यवसायिक दृष्टिकोणले त्यस क्षेत्रमा ईंटा उद्योग, पेट्रोल पम्प, डिलर, पसल दर्ता गर्नेको संख्या पनि बढिरहेको छ । राप्तीपारि क्षेत्रमै दूध डेरी सञ्चालनमा आइसकेका छन् ।

विभिन्न कृषि फर्महरु दर्ता हुने क्रममा रहेको र अन्य औद्योगिक प्रतिष्ठानहरु सञ्चालनको तयारीमा रहेको नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । युवाहरु अब विदेशिनुपर्ने अवस्था समाप्त हुँदैछ । सडक विस्तार भएपछि यो क्षेत्रमा छिट्टै नै फड्को मार्न सक्ने सम्भावनाहरु छन् । बहुप्रतीक्षित नेपालगन्ज–बघौडा सडक निर्माण चर्चा सुरु भएको करिब २३ वर्षपछि सडक निर्माण सुरु भएको थियो । पटक पटकको अवरोध र अनिश्चितताका बीच बाँकेकै दुर्गम राप्तीपारि बघौडा क्षेत्रमा अवस्थित राप्तीसोनारी र नरैनापुर गाउँपालिकालाई सदरमुकाम नेपालगन्जसँग जोड्ने ४४ किलोमिटर सडक निर्माण सम्पन्न भएपछि आवागमनमा सहज भएको छ । राप्ती नदीको बगरबाहेक नेपालगन्ज बसपार्कदेखि नरैनापुरको भारतसँग सीमाक्षेत्र कटकुइँयाको सुइँयासम्म नै कालोपत्रे भइसकेको छ ।

नरैनापुर तथा राप्तीसोनारी गाउँपालिकालाई जिल्ला सदरमुकाम नेपालगन्जसँग जोड्ने सडक निर्माण भएसँगै त्यस क्षेत्रका करिब एक लाख बासिन्दाले वर्षौंँदेखि खेप्दै आएको हिलो र धुलोको सास्ती अन्त्य भएको गाउँपालिका अध्यक्ष शाहले बताए । सडक निर्माण भएसँगै बघौडामा सडक पुर्याउने सपना पनि पूरा भएको बताउँदै अध्यक्ष शाहले भने, ‘पटक पटकको अवरोध र कठिनाइबीच सडक निर्माण सकियो । यो सडकले बघौडाबासीलाई सदरमुकामसँग जोडेको छ ।’ तराईबासी जनताको लाइफ लाइन मानिएको हुलाकी सडक कालोपत्रे भएसँगै नरैनापुुर गाउँपालिका गत वर्ष साउनमा सदरमुकाम नेपालगन्जसँग सडक यातायातले जोडिएपछि सार्वजनिक यातायातका साधन सहज तथा नियमितरुपमा सञ्चालन भइरहेका छन् ।

सडक निर्माणले भारतसँगको परनिर्भरता हटाएको स्थानीयहरु बताउँछन् । नरैनापुर गाउँपालिका गंगापुरका अगुवा युवा सोहनलाल यादव हुलाकी सडकको निर्माण भएपछि स्थानीयबासीको जीवनशैलीमा समेत परिवर्तन आएको बताउँछन् । ‘लामो समयसम्म सडक कहिले पुग्ला भनेर पर्खिरहेका थियौं,’ यादव भन्छन्, ‘अहिले सडक पुगेपछि गाउँमा परिवर्तन समेत आएको छ ।’ यादवका अनुसार अब भारतीय बाटो भएर नेपालगन्ज पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ र नेपालगन्जसँग निकटता बढाएको छ । यसअघि जीर्ण सडकका कारण सवारी साधन भारतीय बाटो भएर नरैनापुर पुग्नुपर्ने बाध्यता थियो । यस सडकमा नरैनापुरसँगै नेपालगन्ज उपमहानगरपालिका, डुडुवा, कम्दी र राप्तीसोनारी गाउँपालिकाका केही वडासमेत जोडिएका छन् ।

हुलाक सडक निर्माण नहुँदासम्म नरैनापुर कुनै काम विशेषले पुग्नका लागि एक दिनको समय खर्च हुने गरेकोमा हिजोआज केही घण्टामै नरैनापुर पुगेर नेपालगन्ज सहजै फर्कन सकिन्छ । विगतमा जिल्ला प्रशासन, मालपोत लगायतका कार्यालयमा काम विशेषले आउँदा काम नसकेमा होटलमा बास बस्नुपर्ने अवस्थाको पनि अन्त्य भएको स्थानीयको भनाई छ । पछिल्लो समय नरैनापुरमा कालोपत्रे सडकसँगै विद्युतीकरण पनि पुगेको छ । यसबाट राज्यले चाहेमा विकास छिट्टै पुग्न सक्दोरहेछ भन्ने बिश्वास आम नागरिकलाई गराएको छ । नरैनापुरमा सार्वजनिक यातायात चल्न थालेपछि सदरमुकाम नेपालगन्जसँग नरैनपुरबासीको सम्बन्ध पनि बाक्लिएको छ । राप्तीपारिका गाउँमा सडक र विद्युतीकरण हरेक निर्वाचनमा उम्मेदवारहरुले उठाउने प्रमुख मुद्दा थिए । ति दुबै मुद्दा करिब पुरा भए पनि मानवीय विकासमा राजनीतिक दल र सरकारको ध्यान पुग्ने अपेक्षा नरैनापुरबासीको रहेको छ ।

नेपाल सरकार आफैंले निर्माणको जिम्मा लिएपछि तराई मधेसका जिल्लाको लाइफ लाइनको रुपमा मानिएको हुलाकी सडकको निर्माणले गति लिएको हो । हुलाकी सडक २२/२२ किलोमिटर गरी दुई चरणमा निर्माण सम्पन्न भएको हो । पप्पु लुम्विनी जेवीले २०७३ माघ २० देखि सुरु गरेको सडक निर्माण कार्य सुरु गरेको हो हुलाकी सडकमा पप्पु लुम्विनी जेवीको ठेक्का भए पनि गणपति निर्माण सेवाले गरेको हो । सडक खण्डभित्र ७० वटा कल्भर्ट निर्माण गरिएको छ । ६६ करोड ५ लाख रुपयाँको लागतमा सडक निर्माण कार्य भएको हो । जसमध्ये पहिलो खण्डका लागि ३४ करोड ६६ लाख र दोश्रो खण्डका लागि ३१ करोड ३९ लाख बजेट समावेश भएको आयोजना कार्यालयले जनाएको छ ।

आर्थिक बर्ष २०६७/०६८ देखि हुलाकी सडक निर्माण सुरु भए पनि भारतीय कम्पनीले निर्माणमा बेवास्ता गरेपछि तीन बर्षअघिदेखि नेपाल सरकार आफैंले हुलाकी सडकको निर्माण सुरु गरेपछि कामले गति लियो । निर्माण कम्पनीले दुई वर्षसम्म मर्मसम्भार कार्य गर्नुपर्ने समयसीमा तोकिएको हुलाकी सडक आयोजना कार्यालय नेपालगन्जका इञ्जिनियर रामसागर हरिजनले जानकारी दिए । उनका अनुसार सिधनिया घाट लगायतका केही स्थानमा मर्मतसम्भार कार्य चलिरहेको छ । हुलाकी सडकसँगै स्थानीय सरकारले गाउँभित्रका सडक निर्माणमा समेत प्राथमिकता दिएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष शाहले सडक पूर्वाधार विकासलाई गाउँपालिकाले प्रमुख प्राथमिकता दिएको बताए । ‘विकासमा सधैं पछाडी परेका कारण संघ र प्रदेश सरकारबाट प्रमुखरुपमा प्राथमिकता पाउनुपर्छ भन्ने हाम्रो हो,’ अध्यक्ष शाह भन्छन् । गाउँपालिकाले आन्तरिकरुपमा समेत पूर्वाधार विकासलाई जोड दिएको छ । गोविन्द शर्मा/समृद्धिको यात्रामा नरैनापुर बुलेटिनबाट

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतवार ०९:५३