सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा भाइरल ज्वरोका बिरामी बढ्दै

बझाङ । बझाङमा भाइरल ज्वरोको संक्रमण बढेसँगै जिल्लाका स्वास्थ्य संस्थाहरुमा विरामीको चाप बढ्दै गएको छ । सुरुवातमा विद्यार्थीमा देखिएको भाइरल ज्वरो अहिले समुदायस्तरमा पनि देखिन थालेको छ । एक महिनाअघि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय धुली र धलौन माध्यामिक विद्यालयका विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि एक हप्ताका लागि विद्यालय बन्द गरिएको थियो ।

अहिले वित्थडचिर गाउँपालिका वडा नं ५ मा रहेको भुमीराज आधारभूत विद्यालयका विद्यार्थीमा भाइरल ज्वरो देखा परेको छ । विद्यालयमा भाइरल ज्वरो फैलिए पछि पाँच दिनका लागी बिद्यालय बन्द गरिएको छ । विद्यालयमा मंगलबारदेखि एक दुई जनामा देखिएको ज्वरो विहिबारसम्म सबै विद्यार्थीमा देखा परेको विद्यालयका शिक्षक रघुविर महरले बताए । उनले भने, ‘विद्यार्थीमा ज्वरो आउने, टाउको दुख्ने, बेहोस हुने, चिच्याउने, खान मन नलाग्ने जस्ता समस्या देखिएका छन् ।’

विद्यालयमा ३५ जनालाई एकैदिन यो लक्षण देखिएपछि विद्यालयले गाउँपालिकाको शिक्षा शाखालाई जानकारी गराएर विद्यालय बन्द गराएको महरले बताए । एक हप्ताअघि गाउँपालिकाकै सुनकुडा माध्यमिक विद्यालयमा पनि विद्यालयमा विद्यार्थीमा पनि भाइरल ज्वरोको लक्षण देखापरेको थियो । विद्यार्थीमा पनि भाइरल ज्वरोको संक्रमण तीब्ररुपमा फैलिएपछि विद्यालय बन्द गर्नुपर्ने अबस्था आएको वित्थडचिर गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरी अवस्थीले बताए ।

मौसममा आएको परिवर्तनसँगै विद्यार्थीमात्र नभएर गाउँपालिकाको समुदायस्तरमा पनि ज्वरोका विरामी बढेका छन् । उनले भने, ‘विद्यालयमा मात्र नभई ज्वरो समुदायमा पनि फैलिदै गएको छ । विदेशबाट घर फकर्ने क्रम बढेकाले कोभिड संक्रमणको आशंकामा कोभिड परिक्षण पनि गरेका थियौ । परिक्षण गरेका सबैमा कोभिड नेगेटिभ आएको छ ।’ एउटै टोलमा दश जनाभन्दा बढीमा समस्या देखिएपछि समुदायमा त्रास फैलिएको छ । अहिले जिल्ला अस्पतालमा बढी जसो भाईरल ज्वरो संगै, मौसमी रुघाखोकी र झाडापखालाका विरामीहरु आउने गरेकोे जिल्ला अस्पताल बझाङका डा.मिलन खडकाले बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार २१:२३