सूचनाको शक्ति - The Power Of Information

        

पत्रकार महासंघको चुनाव : अध्यक्षमा पाँच जनाको उम्मेद्वारी

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन अन्तरगत शनिबार साँझ उम्मेदवारी मनोनयन सम्पन्न भएको छ । जसअनुसार नेपाली कांग्रेसनिकट प्रेस युनियन, एमालेको माधवकुमार नेपाल पक्षको प्रेस चौतारी नेपाल, माओवादी केन्द्र निकट प्रेस सेन्टर लगायतका १२ संगठनको साझा उम्मेदवारी परेको छ ।

यस्तै एमालेका अध्यक्ष केपी शर्मा ओली निकट प्रेस चौतारीबाट उम्मेदवारी मनोनयन भएको छ । यस अन्तरगत अध्यक्षमा निर्मला शर्मा, उपाध्यक्षमा माधव नेपाल, महासचिवमा बालकृष्ण बस्नेतको उम्मेदवारी परेको हो । उता युनियनसहितको समूहबाट अध्यक्षमा विपुल पोखरेल, उपाध्यक्षमा रमेश विष्ट, महासचिवमा रोशन पुरी र बागी महासचिवमा राजेश मिश्रले उम्मेदवारी दिएका छन् ।

अध्यक्षमा ५, कोषाध्यक्षमा ६, महासचिवमा ४, वरिष्ठ उपाध्यक्षमा ५ जनाको मनोनयन परेको निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । कोषाध्यक्षमा प्रकाश थापामगरको उम्मेदवार परेको छ । स्वतन्त्रबाट गजेन्द्र बुढाथोकीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । महासंघको निर्वाचन चैत २५ गते हुँदैछ । पत्रकार महासंघको केन्द्रीय समिति ११ पदाधिकारीसहित ४७ सदस्यीय हुन्छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार २०:५८