सूचनाको शक्ति - The Power Of Information

        

समाचार

एमाले विभाजनतर्फ, अधिकांश भ्रातृ संगठनमा समानान्तर कमिटी

काठमाडौं । नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच विवाद चर्किदै जाँदा धमाधम भ्रातृ संगठनका समानान्तर कमिटी गठन गरिएका छन् । युवा, महिला र विद्यार्थी संगठनका अलग–अलग नेतृत्व चयन गर्दै आआफ्ना गतिविधिसमेत थालिसकिएका छन् । दुवै पक्षले आफूअनुकूल पार्टीका जनवर्गीय तथा पेसागत संगठनका नेतृत्व चयन, विस्तार र गतिविधि सुरु गरेका हुन् ।

यस्ता थप संगठनका भेला गरी आआफ्नै कमिटी बनाउने तयारीमा ओली र नेपाल पक्ष दुवै पक्ष छन् । नेकपा माओवादी केन्द्रसँग एकीकरण हुनुअघिसम्म एमालेका भ्रातृ संगठन युवा संघ नेपाल, अखिल नेपाल महिला संघ र अनेरास्ववियु प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीनिकटको नेतृत्वमा थिए । तर सर्वाेच्च अदालतले नेकपा एकता भंग गर्दै यही फागुन २३ गते पुरानै दुई पार्टी पुनर्स्थापनाको फैसला गरेयता एमालेभित्र ओली र नेपाल पक्षबीच चर्काे द्वन्द्व सुरु भएको हो ।

खासगरी अध्यक्ष ओलीले फागुन २८ गते आफूनिकट केन्द्रीय सदस्यको मात्र बैठक राखेर नेपाल–खनाल पक्षका सबै नेताका पद र जिम्मेवारी खोस्दै गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रका २३ नेतालाई एमालेको केन्द्रीय सदस्य बनाएपछि विवाद उत्कर्षमा पुगेको हो । त्यसयता विरोधमा अलग्गैै भेला तथा बैठक गरिरहेको नेपाल पक्षले आफू अनुकूल नेताका जिम्मेवारी तोक्दै भ्रातृ संगठनका छुट्टै कमिटी गठन तथा गतिविधि सञ्चाल गरिरहेको हो । जसले एमाले विभाजनतर्फ उन्मुख हुँदै गएको प्रस्ट्याउँछन् ।

‘जनवर्गीय तथा पेसागत संगठनमध्ये राष्ट्रिय भेला केहीका भए केहीका हुने क्रममा छ । त्यसले नयाँ नेतृत्व छनोट गरेर पुनर्गठन गर्छ,’ वरिष्ठ नेता नेपाल निकट एकजना स्थायी कमिटीका सदस्यले भने, ‘प्रदेश तथा जिल्लामा भने २०७५ जेठ २ को संगठन सक्रिय बनाएर केही थपघट गर्नेछौं ।’ माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्नुभन्दा अघिल्लो दिन अर्थात् २०७५ जेठ २ गतेसम्म युवा संघको अध्यक्ष रमेश पौडेल थिए भने महासचिव नरेश शाही ।

एमालेको युवा संघ र माओवादी केन्द्रको योङ कम्युनिस्ट लिग (वाइसीएल) एकीकृत भएर राष्ट्रिय युवा संघ नेपाल बन्यो । जसमा संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ र सहसंयोजक रमेश पौडेल बने । २०७५ पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको निर्णय गर्नासाथ तत्कालीन नेकपा दुई पक्षमा विभाजन भयो, ओली समूह र प्रचण्ड–नेपाल पक्ष । त्यसपछि ओली पक्षले रमेश पौडेलको अध्यक्षतामा राष्ट्रिय कार्यकर्ता भेला गरायो । जसले वचनबहादुर सिंहको अध्यक्षतामा युवा संघको नयाँ नेतृत्व चयन गर्यो ।

९९९ सदस्यीय केन्द्रीय कमिटीमा महासचिव रमेश आचार्य छन् । ‘तीनवटा अभियान लिएर गाउँ तहसम्म पुग्ने कार्यक्रम छ । संगठन विस्तार र परिचालन, समृद्धिसँग युवा र सचेतना अभियान सञ्चालन गर्दै छौं,’ आचार्यले भने, ‘पार्टी विरोधी गतिविधिमा संलग्न भएको भनेर पहिले कारबाही गरिसकिएका साथीहरूले कमिटी बनाएको भनेर समाचार आएका छन् । त्यसलाई हामीले वास्ता गरेका छैनौ ।’

उता वरिष्ठ नेता नेपाल पक्षले राष्ट्रिय भेला गरी नरेश शाहीको नेतृत्वमा युवा संघ पुनर्गठन गरेको जनाएको छ । जसमा महासचिव दीपक जीएम छन् । योसँगै युवा संघका केन्द्रीय दुईवटा बनेका छन् । लगत्तै अखिल नेपाल महिला संघ (अनेमसंघ)को पनि राष्ट्रिय भेला गरी नेपाल पक्षले यसको अलग्गै केन्द्रीय कमिटी गठन गरेको छ । जसमा जयन्ती राई अध्यक्ष र शान्ति अधिकारी महासचिव चयन भएका छन् ।

साविक अनेमसंघमा अध्यक्ष गोमा देवकोटा छिन् । अहिले अध्यक्ष बनेकी राई त्यसमा उपाध्यक्ष थिइन् । त्यसैगरी चैत ९ र १० गते माधवकुमार नेपाल पक्षका विद्यार्थीको राष्ट्रिय भेला भयो । जसले सुदेश पराजुलीको अध्यक्षतामा ५०१ सदस्यीय कमिटी बनाएको छ । यसको महासचिवमा आरती लामा चयन भएकी छन् । ‘संगठनलाई प्रदेश र जिल्लाहरूमा पनि पुनर्गठन गर्ने र प्रशिक्षण सञ्चालन गर्ने तयारी छ,’ महासचिव लामाले भनिन्, ‘साथै यसबीच जेठमा अनेरास्ववियुको निर्वाचनका गर्ने तयारी पनि हुनेछ ।’

साविक अनेरास्ववियु ऐन महर नेतृत्वमा छ । नेकपा हुँदा नै अनेरास्ववियुको संयोजक रहेका महरको नेतृत्वमा कमिटी विस्तार गरी १ हजार ९९ सदस्यीय बनाइएको थियो । एमालेमा २२ वटा जनवर्गीय संगठन छन् । पार्टीमा देखिएको विभाजनको असर ती सबै संगठनमा परेको छ । नेपाल समूहले अखिल नेपाल किसान महासंघ पनि पुनर्गठन गर्ने तयारी गरेको छ । यसको नेतृत्व आफ्ना पक्षमा रहेकाले उसले यस्तो निर्णय गरेको हो ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार २०:३९