बाँके । सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा रोक्का राखिएको बाँकेको जानकी गाउँपालिका–३, इन्द्रपुर करमोहनाको जग्गा फुकुवा गर्ने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको सर्वपक्षीय बैठकमा जग्गा रोक्का फुकुवा गर्ने सहमति भएको हो ।
करमोहनाको जग्गा नियमानुसार खरिद गरी घर बनाएर बसिरहेको भन्दै सो जग्गा आफूहरूले कानुनअनुसार उपभोग गर्न पाउनुपर्ने माग गर्दै स्थानीय बासिन्दाले आन्दोलन गर्दै आएका छन् । स्थानीय सन्तकुमार बर्माले प्रशासनमा भएको सहमतिअनुसार केहीदिनमै भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले रोक्का राखिएको जग्गा फुकुवा गर्ने बताए ।
करमोहना मौजामा १२० बढी घरपरिवार बसेका छन् । मालपोतको तथ्याङ्कअनुसार जानकी गाउँपालिकाको साबिक इन्द्रपुर–३ (क) र खजुरामा करिब १०० बिघा जग्गा रहेकोमा इन्द्रपुर–३ (क) को सबै ८४ बिघा जग्गा बिक्री वितरण भएको पाइएको छ ।
।