सूचनाको शक्ति - The Power Of Information

        

जमुनाहमा सुविधा सम्पन्न हेल्थडेस्क

नेपालगन्जस्थित नेपाल–भारत सीमा जमुनाहा नाका ।

बाँके । भारतका विभिन्न राज्यमा कोरोना सङ्क्रमण पुनः बढेपछि नेपालगञ्जको जमुनाह नाकामा स्वास्थ्य सतर्कता बढाइएको छ । जमुनाह नाकामा हेल्थडेस्क सञ्चालन गरी स्वास्थ्य सतर्कता बढाइएको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।

नेपालगन्ज उपमहानगरपालिकाले हेल्थडेस्क सञ्चालन गरिरहेकोमा हाल स्वास्थ्य मन्त्रालय अन्तरगतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मेकिडल अधिकृतसहित छ जना कर्मचारीको दरबन्दी कायम गरेको छ । हेल्थडेस्कमा ज्वरो आएका शङ्कास्पद बिरामीको एन्टिजन तथा मलेरियाको जाँच हुने बताइएको छ ।

ल्याब परीक्षण कार्यसमेत हुने भएकाले गत वर्षभन्दा सहजता हुने स्वास्थ्य शाखा प्रमुख चन्दको भनाइ छ । नेपालगन्ज उपमहानगरपालिकाले ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको साथ पाएपछि कोरोना रोकथाम र नियन्त्रणमा थप सहयोग पुग्ने चन्दले बताए । उनले भने, ‘ल्याबसहितको सुविधा भएकाले विगतमा भन्दा प्रभावकारी काम हुनेछ ।’

हेल्थडेस्कको स्थायी संरचना निर्माणको प्रक्रियासमेत अघि बढिसकेको छ । हेल्थडेस्कमा तत्काल काम सुरु गर्नका लागि स्वास्थ्यका लागि सक्षम प्रणाली नेपालले त्रिपाल, ट्याब लगायतको सहयोग गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहले भने भारतका विभिन्न सहरमा कोरोना सङ्क्रमण बढे पनि सीमा नाकामा मानिसको ओहोरदोहोर सामान्य नै रहेको जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार १०:१६