सूचनाको शक्ति - The Power Of Information

        

दाइजो प्रथाविरुद्ध मुस्लिम धर्मगुरु सङ्गठित

बाँके । पछिल्लो समय बाँकेका मुस्लिम समुदायमा दाइजो लिने दिने प्रचलन बढ्दै गएको भन्दै धर्मगुरु (मौलाना)हरू त्यस्ता गतिविधि रोक्न सङ्गठित भएका छन् । बाँकेमा रहेका मुस्लिम धर्म मौलाना र आलिमहरूले नेपाल ओलेमा काउन्सिल गठन गरेर दाइजो प्रथालगायत अन्य विभिन्न कुरीति कडाइका साथ रोक्ने अभियानमा लागेका हुन् ।

नेपाल ओलेमा काउन्सिलका संयोजक मुफ्ती मौलाना मोहम्मद कैफुलवरा खानले दाइजो प्रथाले गर्दा समाजमा धेरै समस्या उत्पन्न भएकोले यो प्रथा रोक्न दाइजो दिने र लिने दुवैमाथि कडाइ गरिने बताए । मुस्लिम समुदायमा देखिँदै गएको विकृति अन्त्य गर्न जिल्लाका सबै प्रमुख धर्मगुरुको सहभागितामा ओलेमा काउन्सिल गठन गरिएको र काउन्सिलले दाइजो दिने लिने काम तत्काल बन्द गर्न सार्वजनिकरूपमा आग्रह गरेको काउन्सिलका संयोजक खानले बताए ।

उनले दाइजो माग्ने र दिने दुवैलाई सामाजिक र धार्मिक रूपमा कडाइ गर्ने योजना काउन्सिलले तयार गरेको जनाउँदै पहिलो चरणमा दाइजो प्रथाका कुप्रभावबारे समुदायमा जानकारी गराउने तथा दाइजो लिने दिने काम बन्द गर्न आह्वान गर्ने बताए । बाँकेका वरिष्ठ धर्मगुरु तथा नेपाल हज कमिटीका पूर्वकेन्द्रीय अध्यक्ष मौलाना अब्दुल जब्बार मन्जरीले दाइजो प्रथा लगायत अन्य विभिन्न सामाजिक, सांस्कृतिक विकृति रोक्नका लागि धर्मगुरुहरूलाई सङ् गठित गरेर ओलेमा काउन्सिल गठन गरिएको बताए ।

उनले इस्लाम धर्ममा दाइजोको कुनै पनि व्यवस्था नरहेकोले त्यस्ता काम रोक्न धर्मगुरुले हदैसम्मको कडाइ गर्न सक्ने पनि बताए । ओलेमा काउन्सिलले मुस्लिम समुदायका बालबालिकालाई विद्यालय, मदरसा पठाउन अभियान चलाउनुका साथै दाइजो प्रथा र लागूऔषधको सेवनलगायत अन्य विभिन्न विकृति रोक्ने कार्य गर्ने गराउने छ । अधिकांश धर्मगुरुहरूले दाइजो प्रथाको विकृति तत्काल समाप्त पार्नुपर्ने र सबै बालबालिकालाई विद्यालय पठाउनुपर्नेमा विशेष जोड दिए ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार १०:१२