केही वर्ष पहिलेसम्म भारतीय मुद्रा मात्रै लेनदेन हुने र अति दुर्गम ठाउँ भनेर चिनिने बाँकेको नरैनापुर गाउँपालिकाले छोटो समयमै विकास निर्माणमा ठूलो फड्को मारेको छ । गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि इस्तियाक अहमद शाहले योजनाबद्ध ढङ्गले काम गरिरहनुभएको छ । गाउँपालिकाको समग्र विकासका लागि के कस्ता प्रयास भइरहेका छन्लगायतका विषयमा गाउँपालिकाका अध्यक्ष शाहसँग पत्रकार सिराज खानले गरेको कुराकानी :
भारतीय मुद्रा मात्रै लेनदेन हुने दुर्गम ठाउँ भनेर चिनिने नरैनापुरको हालको अवस्था कस्तो छ ?
हो, यहाँंले एकदम ठीक भन्नुभयो । केही वर्ष पहिलेसम्म नरैनापुरको बघौडा क्षेत्रको आफ्नै जिल्लाको सदरमुकाम नेपालगन्जसंँग सम्पर्क थिएन । सडक र यातायात नहुँदा यो क्षेत्रका अधिकांश बासिन्दा भारतीय बजारमै निर्भर थिए । खरिद–बिक्रीदेखि शिक्षा र उपचारसम्मका लागि सीमापारि नै जानुपर्ने बाध्यता थियो । सोही कारण यहाँ भारतीय मुद्रा मात्रै लेनदेन हुन्थ्यो । हामी निर्वाचित भएर आएपछि अहिले अवस्था धेरै फेरिएको छ ।
अहिले नेपालगन्ज–बघौडा हुलाकी सडकको निर्माण पूरा भएपछि एक घण्टामा सदरमुकाम पुग्न सकिन्छ । भारतीय सिमानासम्म नै विद्युत् पनि पुगेको छ । त्यसैले अब नरैनापुर दुर्गम रहेन । अहिले गाउँपालिकाभित्रै सुविधा सम्पन्न अस्पताल र स्वास्थ्य चौकीहरू सञ्चालनमा आएका छन् । सडक बनेपछि किसानका उत्पादनलाई नेपालगन्ज पुर्याउन सहज भएको छ । गाउँपालिकामै एम्बुलेन्स र दमकलसमेत राखिएको छ । गाउँपालिकालाई दुर्गमबाट सुगम बनाउन हामी सफल भएका छौँ ।
स्वास्थ्य, शिक्षा र अन्य पूर्वाधार विकासको अवस्था के छ ?
यहाँको सबैभन्दा ठूलो समस्या भनेको नै बिरामी परेपछि समयमा राम्रो उपचार नपाउनु थियो । सामान्य उपचारका लागि पनि सीमापारि भारतीय क्षेत्रमै जानुपर्ने बाध्यता थियो । सोही कारणले हामीले सडक र विद्युत्सँंगै स्वास्थ्य सेवालाई प्रमुख प्राथमिकतामा राखेका हौँ । अत्याधुनिक भवनसहित प्राथमिक स्वास्थ्य केन्द्र बनेपछि पनि दरबन्दीअनुसारको चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा समस्या थियो तर मेडिकल अधिकृतसहितको स्वास्थ्य जनशक्तिको व्यवस्था गरेपछि अहिले २४सै घण्टा इमर्जेन्सी सेवा सञ्चालनमा ल्याइएको छ ।
गाउँपालिकाले आफ्नो बजेटबाट पनि केही स्वास्थ्यकर्मी भर्ना गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिका लागि आवश्यक उपकरण खरिद गर्न एक करोड २० लाख रुपियाँको बजेट प्राप्त भएको छ । जसबाट प्रयोगशालालगायत अन्य अत्याधुनिक उपकरण खरिद गरिने छ । यसैगरी वडा नम्बर ४ मा पनि एक करोडभन्दा बढीको लागतमा १५ बेडको अस्पताल निर्माण प्रक्रिया सुरु गरिएको छ । अन्य स्वास्थ्य चौकीहरूको पनि स्तरोन्नति गरिरएको छ ।
निःशुल्क स्वास्थ्य सेवा पाउने जनताको नैसर्गिक अधिकारको प्रत्याभूति गराउन गाउँपालिका निरन्तर लागिपरेको छ । सोही प्रकारले शिक्षाको विकासका लागि विद्यालयको भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनुका साथै विद्यालयबाहिर रहेका सबै बालबालिकालाई विद्यालय पु¥याउने अभियान नै चलाएका छौँ । सडक विस्तारबिना विकास सम्भव नभएको निष्कर्षमा पुगेर बाटोघाटो र पुलपुलेसा निर्माणलाई पनि प्राथमिकता दिएका छौँ ।
विद्युतीकरणका साथै विकासको क्षेत्रमा के कस्ता काम हुँदैछन् ?
नेपालगन्जबाट बघौडा सुइयाको सिमानासम्म विद्युतीकरणको काम भर्खरै पूरा गरेका छौँ । अब विद्युत् विभिन्न वडामा पु¥याउनुपर्ने चुनौती छ । त्यसका लागि पनि पहल र प्रयास सुरु भइसकेको छ । हामीले सबै घरमा विद्युत् पुग्ने गरी कार्य गरिरहेका छौँ । आर्थिक विकासका लागि पनि नरैनापुर–४ को खोदामा भन्ने स्थानमा ५० बिघा जग्गामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु गरेका छौँ ।
यो योजनाले गाउँपालिकालाई देश–विदेशमा चिनाउनुका साथै ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गरेर आर्थिक विकासमा कोसेढुङ्गा साबित हुनेछ । औद्योगिक ग्रामको डीपीआर तयार गर्न अध्ययन सुरु गरिएको छ । यसबाहेक पनि विद्युत् र सडक पुगेपछि गाउँपालिकाभित्र विभिन्न उद्योग र कलकारखाना सञ्चालन गर्ने वातावरण बनेको छ । त्यसका लागि पनि पहल र प्रयास भइरहेका छन् । किसानका उत्पादनलाई बजारसम्म पु¥याउन दुग्ध सङ्कलन केन्द्र तथा हाट बजारलगायत स्थापनाको पनि पहल भइरहेको छ ।
गाउँपालिकाको समग्र विकासका लागि कसरी काम गरिरहनुभएको छ ?
नरैनापुर विगत लामो समयदेखि विकासको प्रतीक्षामा थियो । विगतका सरकारहरूको उपेक्षाकै कारण यो क्षेत्र अति नै पछाडि परेको थियो । हरेकजसो निर्वाचनमा सडक, विद्युत्, पुल र अस्पताल चुनावी नारा बने पनि कसैले पूरा गर्न इमानदारी देखाएको थिएन । हामी निर्वाचित भएर आएपछि स्थानीय तहले पाएको अधिकार प्रयोग गरेर विकास–निर्माणका धेरै काम गरिएका छन् र अझै गर्ने क्रम जारी छ । हामी जितेर आउनुअघि नरैनापुर गाउँपालिकामा एक मिटर पनि पक्की सडक थिएन ।
नेपालगन्ज आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । अहिले कालोपत्रे हुलाकी सडकले नरैनापुरलाई नेपालगन्जसँग जोडेको छ भने गाउँपालिकाभित्र १० किलोमिटर भित्री सडक पक्की भइरहेको छ । हरेक वडाको सडकलाई हुलाकी सडकसँग जोड्ने योजना अघि सारिएको छ । गाउँपालिकामा विद्युत् पुगेको छ । सुविधासम्पन्न अस्पताल सञ्चालनमा छ । आँखा उपचार केन्द्र र सर्पदंश उपचार केन्द्र पनि सञ्चालनमा आउँदैछ । गाउँपालिकामा रङ्गशाला निर्माणको प्रक्रिया पनि सुरु भएको छ । एम्बुलेन्स र दमकल गाउँपालिकामै राखिएको छ । स्थानीय तहले विकासका काममा विशेष ध्यान दिएको छ ।
हरेक वर्ष हुने आगलागी र विपत्बाट जोगिन के के काम भएको छ ?
नरैनापुर क्षेत्रमा हावाहुरीको मौसममा बर्सेनि हुँदै आएको आगलागीका घटनाबाट विगतमा ठूलो क्षति हुँदै आएको छ । हामीले त्यसबाट जनतालाई सुरक्षित राख्न विभिन्न काम गरेका छौँ । पहिले आगलागी भएमा नेपालगञ्जबाट भारतको बाटो भएर दमकल आउनुपर्ने हुँदा दमकल पुग्दासम्म सबै जलेर खरानी हुँदै आएकोमा सडक बनेपछि अहिले गाउँपालिकामै दमकल राखेका छौँ । थप दमकल आवश्यक परे नेपालगन्जबाट पनि आधा घण्टामा दमकल पुग्ने अवस्था अहिले सिर्जना भएको छ ।
योबाहेक फुसका छाना विस्थापित गर्ने विशेष अभियान अन्तरगत ४११ घरपरिवारको छाना विस्थापित गरेर टिनको छाना बनाउने प्रक्रिया सुरु गरेका छौँ । यो योजनालाई बढाउँदै लगेर आगलागी हुने गाउँहरूमा टिनका छाना लगाउँदै जानेछौँ । यसबाहेक आगलागीबाट जोगिन विभिन्न सचेतनामूलक कार्यक्रम पनि गरिएको छ । डुबान र बाढीको जोखिमबाट बच्न तटबन्ध निर्माणदेखि अति प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सारेर आवासको व्यवस्था गर्ने योजना पनि अघि सारिएको छ ।
गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?
नरैनापुरलाई एउटा नमुना गाउँपालिकाका रूपमा विकास गर्ने हाम्रो योजना रहेको छ । राज्यले यसलाई दुर्गम गाउँपालिका घोषणा गरे पनि सोअनुसारको बजेट, सेवा सुविधा दिन सकेको छैन । दुर्गम गाउँपालिका घोषणा गरेर विकासका लागि बढीभन्दा बढी योजना दिनुपर्ने हो तर त्यो नदिँदा वार्षिकरूपमा पाउने अनुदानका भरमा गाउँपालिकाको विकास गर्नुपर्ने अवस्था छ । तैपनि प्राथमिकताका आधारमा बजेट बाँडफाँट गरी जनताको माग सम्बोधन गर्ने प्रयास गरिरहेका छौँ । हामी आफ्नै कार्यकालमा विकास र पूर्वाधार निर्माणलगायत सेवाका अन्य क्षेत्रमा सुगम र उदाहरणीय स्थानीय तह बनाउन क्रियाशील छौँ ।
सङ्घीय र प्रदेश सांसदको कस्तो सहयोग पाउनुभएको छ ?
नरैनापुरलाई छोटो समयमा दुर्गमबाट सुगम बनाउने काम हामीले मात्र एक्लै गरेर भएको होइन । यसका लागि यस क्षेत्रका सङ्घीय सांसद तथा सरकार, जिल्ला समन्वय समितिको पनि ठूलो सहयोग र समर्थन रहेको छ । हुलाकी सडक निर्माणदेखि विद्युतीकरणसम्मका लागि सङ्घीय र प्रदेश सांसदले दिनरात दौडधुप र मेहनत गर्नुभएको छ । मिडियाले पनि वर्षौंदेखि यस क्षेत्रको विकासका लागि राज्यलाई खबरदारी गर्दै आएको छ । सांसदहरूको पहिलो प्राथमिकता नरैनापुरलाई दुर्गमबाट सुगम बनाउने नै रहेको छ । सबैको सहयोग प्राप्त भएकाले हामी गाउँपालिकालाई परिवर्तन गर्न सफल भएका छौँ ।
।