सूचनाको शक्ति - The Power Of Information

        

बाँके निकुञ्जको लापर्बाही

नरभक्षी बाघ भागेपछि मान्छे खाने खतरा, नागरिकहरु त्रासमा

फाइल तस्वीर

बाँके । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पटक–पटक मान्छेलाई आक्रमण गरेपछि समातेर बाँके राष्ट्रिय निकुञ्जमा ल्याएर राखिएको बाघ भागेपछि बाँकेमा आतंक फेलिएको छ । बाँके राष्ट्रिय निकुञ्जको लापर्बाहीका कारण बाघ भागेपछि निकुञ्ज आसपास क्षेत्रका नागरिकहरु त्रसित बनेका छन् ।

निकुञ्जको खैरीस्थित टाइगर होल्डिङ सेन्टरमा मंगलबार बिहान ५ः०० बजेसम्म सीसीटीभीमा बाघ देखिएको बाघ खोरलाई भत्काएर भागेको हो । खोरबाटै बाघ भागेपछि निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले मध्यवर्ती क्षेत्रमा रहेका बस्तीहरुमा पुगेर सावधानी अपनाउन गाउँलेलाई सूचित गरिरहेको थियो ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमूख संरक्षण अधिकृत (वार्डेन) श्याम साहले प्रदेश सरकारको बन क्षेत्रबाट आएको र विभागको निर्देशनमा बाँके निकुञ्जमा ल्याइएको भए पनि साधन स्रोतको अभावले बाघ भागेको स्वीकार गरेका छन् । उनले भने, ‘यसमा मेरो कुनै तर्क छैन । हामीसँग भएको साधन स्रोत भएसम्म व्यवस्थापन गरेका थियौं ।’

उनले बाघ सानो क्षेत्रमा बाघलाई राखिएको भन्दै बल प्रयोग गरेर निस्किएको बताए । बाघको रेखदेख र व्यवस्थापनमा संवेदनशील नदेखिएको बाँके निकुञ्जका वार्डेन साहले प्रदेश सरकार अन्तरगतको बनबाट बाघ ल्याएको भन्दै गैरजिम्मेवार जवाफ दिए । बाघ वयस्क भएकाले टाइगर केज (बाघ थुन्ने पिजडा) तीन वटा डण्डी बङ्ग्याएर भागेको जनाइएको छ ।

यसरी भाग्न सफल हुँदासमेत निकुञ्ज सुरक्षार्थ खटिएको टोली र बाघको रेखदेख गरिरहेको टोलीको लापर्बाही र गैरजिम्मेवारी देखिन्छ । बर्दिया राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले नेपाल–भारतको खाता जैविक मार्ग क्षेत्रबाट चैत ५ गते बाघलाई नियन्त्रणमा लिएको थियो ।

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट समातेर चैत ५ गते बाँके राष्ट्रिय निकुञ्जमा ल्याएर खोरमा थुनेको बाघ खोरको डण्डी बङ्ग्याएर पुनः आफ्नो प्राकृतिक घर जंगल पसेको छ । डार्ट गरि (गोली हानी लठ्याएर) समातेको बाघलाई डिभिजन वन कार्यालय बर्दियाले बाँके राष्ट्रिय निकुञ्ज खैरीस्थित टाइगर होल्डिङ सेन्टरमा राखेको थियो ।

बाघ खोरबाट भागेपछि बाँके निकुञ्ज आसपासका क्षेत्रमा त्रास फैलिएको छ । बाघ मंगलबार बिहान ४ः४५ बजेसम्म उक्त खोरमै रहेको सिसी टिभी फूटेजमा देखिएको छ । निकुञ्जको लापर्बाहीका कारण नरभक्षी बाघले फेरि मान्छे खाने खतरा बढेको छ । नरभक्षी बाघ भागेपछि बाँके निकुञ्ज आसपासका नागरिकहरु त्रसित बनेका छन् ।

वार्डेन साहका अनुसार बाघ भागेपछि निकुञ्जले सूचना जारी गर्दै सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । प्रहरीले पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल, साइकल र पैदल यात्रामा कडाइ गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका इन्चार्ज प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार ०९:०४