सूचनाको शक्ति - The Power Of Information

        

जसपा र सरकारबीच बालुवाटार वार्ता सकारात्मक, तर जुटेन सहमति

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमाले नेताहरु र जसपा अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुबीच मंगलबार भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता सकारात्मक भएको नेताहरुले प्रतिक्रिया दिएका छन् । जसपा नेताहरुको मागप्रति प्रधानमन्त्री ओली सकारात्मक भएपछि जसपा नेताहरु प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।

भेटमा जसपाको मागका विषयमा सकारात्मक छलफल भएको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए । यद्यपि छलफलबाट कुनै निष्कर्ष ननिस्किए पनि छलफल भने सकारात्मक भएको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले जसपा नेताहरुको माग पूरा गर्न सरकार सकारात्मक रहेको भन्दै सत्ता साझेदारीको प्रस्ताव राखेका छन् । जसपा नेताहरुले पनि आफूहरुको माग सम्बोधन भए सरकारमा सहभागी हुने सकिने जवाफ दिएका छन् । जसपाले निर्वाचित सांसद रेशम चौधरीलाई रिहाइ गर्नु पर्ने, संविधान संशोधन गर्नुपर्ने लगायतका माग राखेको छ।

सर्वोच्च अदालतले एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्काएपछि प्रधानमन्त्री ओली जसपाको समर्थनका सरकार टिकाउने दाउमा छन् । तर, सरकारलाई समर्थन गर्ने विषयमा जसपाभित्र विवाद छ ।

उपेन्द्र यादव र डा बाबुराम भट्टराई ओली सरकारसँग सहकार्य गर्न नहुने पक्षमा छन् ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलवार १६:०२