सूचनाको शक्ति - The Power Of Information

        

२४ घन्टामा थप १५० जनामा कोरोना संक्रमण, तीनको मृत्यु

काठमाडौं ।  पछिल्लो २४ घन्टामा ४४ सय ७२ जनाको स्वाब परीक्षण गर्दा १५० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

कोरोनाबाट तीनजनाले ज्यान गुमाएका छन्। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको छ। केही दिनयता कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य थियो।

थप १५० जनामा संक्रमण र दुईजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ।

यस्तै पछिल्लो २४ घन्टामा थप ९९ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार २० पुगेको मन्त्रालयले जनाएको छ। निको हुने दर ९८.५ प्रतिशत हो।

हालसम्म  ५१ जना क्वारेन्टाइनमा र १ हजार १७ जना आइसोलेसनमा छन्।

पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमण बढ्न थालेपछि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ।  सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न मन्त्रालयले अनुरोध गरेको छ।

भारतमा पछिल्लो २४ घण्टामा ४६ हजार ९५१ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् भने २१२ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

पछिल्लो एक सातामा भारतमा कोरोनाका दुई लाख ६० हजार नयाँ संक्रमित थपिएका छन् । भारतीय स्वास्थ्य विशेषज्ञहरुले लापरबाहीकै  कारण पछिल्लो समय कोरोना संक्रमण  बढिरहेको बताएका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार १६:४७