सूचनाको शक्ति - The Power Of Information

        

६ वर्षपछि नेपालमा गैंडा गणना सुरु

काठमाडौं ।   दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको गणना आजदेखि सुरु हुँदैछ । चितवन राष्ट्रिय निकुञ्जसहित गैंडा पाइने नेपालका विभिन्न निकुञ्जमा ६ वर्षपछि गणना हुन लागेको हो ।

पछिल्ला वर्ष चोरी सिकार नियन्त्रणमा आए पनि अन्य कारणले गैंडा मर्ने समस्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७५/७६ मा चोरी सिकारबाट गैंडा मर्ने संख्या शून्य थियो । तर अन्य कारणले ४३ वटा गैंडा मरेका चितवन निकुञ्ज कार्यालयले जनाएको छ ।

सन् २०१५ को गणनामा नेपालमा ६ सय ४५ वटा गैंडा थिए । त्यसबेला चितवन निकुञ्जमा मात्रै ६ सय ५ वटा गैंडा पाइएको थियो । गणनापछि चितवन निकुञ्ज र आसपासको वन क्षेत्रमा गरेर १ सय ६१ गैंडा मरेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।

यसमध्ये चोरी सिकारीबाट जम्मा ६ वटा गैंडा मरेका छन् ।  १ सय ५५ वटा बूढो भएर र प्राकृतिक कालगतिसँगै केही दुर्घटनामा परेर मरेका हुन् । पाँच/पाँच वर्षमा गैंडा गणना गर्ने सरकारको नीति भए पनि अघिल्लो वर्ष कोरोनाका कारण गणना हुन सकेन ।

गैंडा विश्वबाट लोप हुने खतरामा पुगेको दुर्लभ वन्यजन्तु हो । गैंडा मारेमा, यसको अङ्गको किनबेच वा ओसारपसार गरेमा १५ वर्ष कैद र १० लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार १०:२८