सूचनाको शक्ति - The Power Of Information

        

नेपाल खुसी हुने देशमा दक्षिण एसियामा नै अग्रस्थानमा

काठमाडौं । कोरोनाको त्रासको महामारी, आर्थिक संकट र राजनीतिक अस्थिरताको बीच पनि नेपाल खुसी हुने मुलुकको ८७औं स्थानमा रहेको छ ।

छिमेकी मुलुक भारतभन्दा नेपाली बढी खुसी हुने मुलुकको रूपमा देखिएको छ । नेपाल दक्षिण एसियामा नै सबैभन्दा बढी खुसी हुने देशको रूपमा स्थापित हुन सफल भएको छ ।

कोरोनाको विश्वव्यापी असरले अर्थतन्त्र नराम्रो गरी प्रभावित बन्यो । धेरै कलकारखाना प्रभावित भए र धेरैको रोजगारी पनि खोसिए । यसका बाबजुद पनि नेपाली खुसी देखिएको अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ ।

संयुक्त राष्ट्र संघको सस्टेनेबल डेभलपमेन्ट सल्युसन नेटवर्कअनुसार वल्र्ड ह्यापिनस इन्डेक्स २०२१ अनुसार विश्वको १ सय ५३ देशमध्ये नेपाल ८७औं स्थानमा रहेको छ । गत वर्ष नेपालको स्थान ९२औं स्थानमा रहेको थियो ।

नेपालले गएको पाँच वर्षमा बाल मृत्युदर, प्रजनन तथा मातृत्व स्वास्थ्य, बाल स्वास्थ्य, पोषण तथा विकास, जीवन सन्तुष्टि, शिक्षा, खानेपानी, बिमा, विद्युत्लगायतका सूचकमा उल्लेखनीय प्रगति गरेको देखिएको छ ।

केन्द्रीय तथ्यांक विभागले प्रकाशित गरेको नेपाल बहुसूचक सर्वेक्षण २०७६ का अनुसार सामाजिक विकासका क्षेत्रमा नेपालको अवस्था सुधारिएको छ ।

खुसीका सामाजिक, आर्थिक, वातावरणीय, भौगोलिकलगायत विविध उपसूचकका आधारमा विभिन्न मुलुकका जनताको खुसीको स्तर यो प्रतिवेदनले मूल्यांकन गर्दै आएको छ ।

खुसी सूचकको सबैभन्दा अगाडि फिनल्यान्ड, डेनमार्क, स्विट्जरल्यान्ड, आइसल्यान्ड र नर्वे छन् । खुसी हुने मुलुकको सूचीमा फिनल्यान्ड लगातार चौथोपटक पहिलो नम्बरमा छ ।

फिनल्यान्डले कोभिड–१९ नियन्त्रण गर्न लकडाउन गर्नै परेन । खोप विकास भएर प्रयोगमा आएपछि त्यहाँको जनजीवन अझ सहज भयो । फिनल्यान्डमा कोभिडबाट मृत्यु हुनेको संख्या पनि कम रहेको छ ।

यसपटक छिमेकी मुलुकहरू चीन ८४ र भारत १३९औं स्थानमा छन् । एसियाली मुलुक चीन र नेपालले सुखी र खुसी हुनेमा आफ्नो स्थान सुधार गरेका छ । सन् २०१७ मा नेपाल १०१ स्थानमा थियो ।

गत वर्ष चीन ९४औं, भारत १४४औं, र पाकिस्तान ६६औं स्थानमा थिए । एसियाली मुलुकमध्ये तुलनात्मक रूपमा चीनले आफ्नो स्थान निकै सुधारेको छ ।

यसपटकको सूचीमा डेनमार्क, स्विटजरल्याण्ड, आइसल्यान्ड, र हल्यान्ड क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं नम्बरमा छन् । सबैभन्दा खराब अवस्था अफगानिस्तानको छ, जो जिम्बाबे र रुवान्डाभन्दा पनि मुनि छ ।

सुखी र खुसी मुलुकको संसारको टप टेनमा नर्वे, स्विडेन, लक्जम्बर्ग, न्युजिल्यान्ड र अस्ट्रिया छन् । विश्वका ठूला आर्थिक महाशक्ति राष्ट्रहरू अमेरिका १९ र जापान ५६ नम्बरमा रहेको रिपोर्टमा उल्लेख छ ।

मालदिभ्स ८९, बंगलादेश १०१, पाकिस्तान १०५ र श्रीलंका १२९ नम्बरमा परेका छन् । बितेका वर्षभन्दा यसपटक थुप्रै मुलुकको नाम सूचीको नम्बरमा निकै तलमाथि परेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतवार ०९:१८