सूचनाको शक्ति - The Power Of Information

        

रंगहरूको पर्व होली आजबाट सुरु, वसन्तपुरमा होलीको चीर गाडिंदै

काठमाडौं । रंगहरूको पर्व होली आजबाट विधिवत रुपमा सुरु भएको छ । काठमाडौंको वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ होलीको चीर ठड्याइएपछि देशभर होली पर्व सुरु हुने मान्यता छ ।

चन्द्रमास अन्तर्गत् फाल्गुन महिनाको पूर्णिमाको दिन मनाइने होली यो वर्ष काठमाडौं उपत्यका तथा पहाडी भेगमा चैत १५ गते मनाईदैछ । तराई भेगमा भने चैत १६ गते होलीको विशेष तामझाम हुनेछ ।

वसन्तपुरमा चीर ठड्याउनु अघि पशुपतिस्थित गोरखनाथको मन्दिरमा पृथ्वीनारायण शाहको गुर्जु पल्टनले सलामी दिएर मयलको रूखको शिर चढाएर पशुपति नाथमा मयलको हाँगा चढाउने चलन छ ।

बाजागाजा सहित पशुपतिनाथबाट उक्त पल्टन हनुमान ढोकामा पुगेपछि शुभसाइतमा वसन्तपुरमा करिब ३० फिट अग्लो चीर ठड्याउने गरिन्छ ।

रंगीचंगी कपडाहरू बाँधिएको तीन छत्रे चीर फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिन्छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतवार ०८:३३