बाँके । इलाका प्रहरी कार्यालयले बिहीबारमात्रै चिसापानी बजारबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला, भालुको पित्त र कस्तुरीको बिनासहित ३ जनालाई पक्राउ गर्यो । प्रहरीले बरामद गरेको सामान झण्डै दुई करोड रुपैयाँ बराबरमा बिक्रीका लागि मोलमोलाई भएको थियो । मोलमोलाई भइरहेकै अवस्थामा उनीहरुलाई प्रहरी पक्राउ गर्न सफल भयो ।
त्यसको २४ घण्टा वित्न नपाउँदै प्रहरीले गैंडाको खागसहित दुई जनालाई पक्राउ गरेको छ । बाके प्रहरीले गैंडाको खाग बरामद घटना पहिलो हो । उक्त गैंडाको खाग विक्रीका लागि एक करोड रुपैयाँमा मोलमोलाई भइरहेकै अवस्थामा इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज एवं प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।
उनका अनुसार गैंडाको खागसहित नवलपरासीको बुलिङ्टार गाउँपालिका–२, का ३५ बर्षिय कृष्ण पुलामी मगर र सिन्धुली ग्यङ्लेख गाउँपालिका–५, का ३४ का सुरेश सिजाली पक्राउ परेका हुन् । लामो समयदेखि वन्यजन्तु चोरी तस्करीमा लागेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पछ्याउने क्रममा कोहलपुर नगरपालिका–११ बाट पक्राउ गरिएको हो ।
कोहलपुर नगरपालिका–११ मा शंकास्पदरुपमा हिँडिरहेका दुई जनालाई चेकजाँच गर्ने क्रममा कृष्ण पुलामी मगरको साथबाट दुई थान त्रिभुज आकारको गैंडाको खाग बरामद भएको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिए । नायव उपरीक्षक खनालका अनुसार पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालयमा पठाइएको छ ।
हिजो र आजका यी दुई वटा प्रतिनिधिमूलक घटना हुन् । यसरी दिनदिनै दुर्लभ वन्यजन्तुको चोरी सिकारी अभियोगमा तस्करहरू बाँके जिल्लालाई ट्रान्जिट बनाउँदै सक्रिय कारोबारमा लागेका छन् । लुम्बिनी प्रदेशको बाँके यतिबेला हरेक हिसाबले केन्द्रझैं बनिरहेको छ । त्यसैको फाइदा उठाउँदै तस्करहरु पनि अवैद्य वन्यजन्तुको ओसारपसार र खरिद बिक्री हिसाबले बाँके जिल्लालाई ‘ट्रान्जिट’ बनाउँदै आएका छन् ।
अवैद्य वन्यजन्तुका ओखेटोपहार खरिद बिक्री तथा मुल्यको बार्गेनिङ्गका लागि नेपालगन्ज, कोहलपुर क्षेत्र सुरक्षित र केन्द्र बनिरहेको हिजो र आजका दुई घटनाले देखाएका छन् । यसअघि वन्यजन्तुका ओखेटोपहारको तस्करी रोक्न प्रहरी सक्रिय नभएको गुनासो पनि आइरहेका थिए । तर, पछिल्लो समयमा कोहलपुर प्रहरी ‘तस्कर’माथि कडा एक्सन चलाइरहेको छ ।
कर्णाली र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी जिल्लाबाट वन्यजन्तुका ओखेटोपहार ल्याएर नेपालगन्जमा खरीद विक्री हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । ‘हामी सफलतामा पुगिरहेका छौं,’ प्रहरी नायव उपरीक्षक खनालले भने । दुई दिनको सफलतासँगै प्रहरीलाई ‘ट्रान्जिट’ प्वाइन्ट बाँकेलाई तस्करमुक्त बनाउने चुनौती देखिएको छ ।
पश्चिम नेपालको बाँके जिल्ला वन्यजन्तुका ओखेटोपहार ओसारपसार गर्ने ‘ट्रान्जिट’ प्वाइन्टका रुपमा विकास हुँदै गएको प्रष्ट हुन्छ । प्रहरीका अनुसार वन्यजन्तुको तस्करी नेपालबाट मात्र होइन, अन्य देशबाट समेत नेपाल ट्रान्जिट हुँदै गएको छ । खुला सीमाका कारण नेपाल ट्रान्जिट प्वाइन्ट हुने गरेको प्रहरीको भनाइ छ ।
नेपालमा पाइने वन्यजन्तुका आखेटोपहार अधिकांश चीनतिर निर्यात हुने गरेको देखिएको छ । वातावरणीय सन्तुलनका लागि वन्यजन्तुको संरक्षण जति महत्वपूर्ण छ, त्यति नै चुनौतीपूर्ण पनि देखिएको संरक्षणकर्मीहरु बताउँछन् । चोरी–शिकारी, वासस्थानको विनाश, खानेकुराको अभाव, बढ्दो जनसंख्याका कारण वन्यजन्तु संरक्षण निकै चुनौतीपूर्ण बनेको छ ।
वन्यजन्तु संरक्षणका लागि नेपालले संरक्षण क्षेत्र नै घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघ लगायत वन्यजन्तु संरक्षणसँग सम्बन्धित विभिन्न सन्धी–अभिसन्धीको पक्ष राष्ट्र रहेको नेपालले वन्यजन्तु आरक्ष र राष्ट्रिय निकुञ्ज विकास गरी संरक्षण अभियानलाई तीव्रता दिइरहेको छ । तर, वन्यजन्तु संरक्षणका चुनौती भने कम भएका छैनन् ।
बरामद गरिएको गैडाको खाग ।
वन्यजन्तु संरक्षणको मामलामा नेपालका लागि प्रमुख चुनौती चोरी–शिकारी नै हो । यहाँबाट वन्यजन्तुका आखेटोपहार तस्करी हुने घटनाले पनि नेपाल झन् चुनौती थपिरहेको छ । नेपालमा लोपोन्मुख वन्यजन्तुको शिकारका साथै यहाँ ट्रान्जिट बनाएर त्यस्ता वन्यजन्तुका अंगको तस्करी पनि हुने गरेको प्रहरी अनुसन्धानबाट देखिन्छ ।
प्रहरीले लामो समयदेखि वन्यजन्तुका अंगको तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ पनि गर्दै आएको छ । खासगरी गैंडा, बाघ, चितुवा, भालु, हाब्रे सालक लगायत वन्यजन्तु तस्करहरूको निशानामा पर्ने गरेको प्रहरी अनुसन्धानमा देखिन्छ । गैंडा खाग, खुर र छालाका लागि तस्करको निशानामा पर्ने गरेको छ भने छाला र हड्डीका लागि बाघ र चितुवाको शिकार हुन्छ ।
त्यस्तै पित्त र नङ्ग्राको लागि भालु मारिन्छ भने छालाको लागि रेडपाण्डा (हाब्रे)को सिकार हुन्छ । त्यस्तै खपटाको लागि सालक, विनाको लागि कस्तुरी, दाह्राको लागि हात्ती, साहतुस (रौं)का लागि चिरुको शिकार हुन्छ । यीबाहेक अजिङ्गर, सालक, हुचिल, लाटोकोसेरो लगायत वन्यजन्तु र पंक्षीको भने जीवित तस्करी हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।
वन्यजन्तु सम्बन्धी तस्करीको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरु नेपालमा वन्यजन्तुको शिकारका घटनामा केही कमी आएको बताउँछन् । तर, त्यसको तुलनामा नेपाललाई ट्रान्जिट बनाएर आखेटोपहारको तस्करी भने बढीरहेको उनीहरुको भनाइ छ । प्रहरीका अनुसार यस्तो तस्करीमा अन्तर्राष्ट्रिय गिरोह नै संलग्न रहेको छ ।
तस्करहरुले नेपाली भूमिको प्रयोग गर्दै आखेटोपहारको व्यापक माग हुने देशहरु चीन, भियातनाम, जापान, कम्बोडिया लगायतका बजारमा पुर्याउँछन् । चीरुको रौं तिब्बतबाट अवैध रुपमा निकासी गरी नेपालको बाटो हुँदै भारत जान्छ । बाघको छाला र हड्डी नेपालको बाटो हुँदै तिब्बत पुग्छ । त्यहाँबाट तेस्रो मुलुकमा समेत पुग्ने गरेको छ ।
प्रहरीले सार्वजनिक गरेका केही घटनाको विश्लेषण गर्दा वन्यजन्तुसँग सम्वन्धित अपराध नेपाल, भारत र चीनसँग अन्तर सम्बन्धित रहेको देखिन्छ । प्रहरीले गरेको अनुसन्धानअनुसार नेपालबाट बाहिर तस्करी हुने वन्यजन्तुको आखेटोपहारमध्ये २० प्रतिशत नेपालमै शिकार गरेर संकलन हुन्छ । बाँकी ८० प्रतिशत बाहिरी मुलुकबाट नेपाल हुँदै तस्करी हुन्छ ।
फन्दामा भरिया, धन्दामा तस्कर
प्रहरीले अहिलेसम्म वन्यजन्तुका आखेटोपहार तस्करीको आरोपमा जतिलाई पक्राउ गरेको छ, उनीहरुमध्ये धेरैजना भरिया मात्रै छन् । प्रहरीले पक्राउ गरेकाहरु कमजोर आर्थिक अवस्था, न्यून आय भएका व्यक्ति हुनुले पनि उनीहरु भरिया मात्रै भएको तथ्य प्रमाणित हुन्छ । आर्थिक अवस्था कमजोर भएका व्यक्ति पैसा कमाउने उद्देश्यले मात्रै तस्करीमा संलग्न हुन्छन् ।
आर्थिक अवस्था कमजोर भएका र अशिक्षित व्यक्तिहरु तस्करीबारे जानकारी नै नलिइ यसमा संलग्न भएको देखिन्छ । उनीहरु जे काम गरे पनि पैसामात्रै कमाउनुपर्ने भन्ने उद्देश्यबाट निर्देशित भएको पाइन्छ । यसको ठीक विपरित, वन्यजन्तु तस्करीमा संलग्न गिरोहका सदस्य भने कहिल्यै पक्राउ पर्दैनन् । यस्तो गिरोहका सदस्यबारे प्रहरीलाई पनि पर्याप्त जानकारी हुँदैन ।
‘पक्राउ परेका व्यक्तिहरु पनि नचिनेका व्यक्तिबाट यो कार्यमा संलग्न हुन्छन् । उनीहरु पैसा पाएपछि जेपनि गर्ने खालका भएकाले आफूलाई कसेले काम लगाएको भन्नेबारे बुझ्न पनि नचाहने रहेनछन्,’ वन्यजन्तुको तस्करीबारे एक जना अनुसन्धानकर्मीले भन्छन्, ‘पक्राउमा पर्ने व्यक्तिलाई नै पर्याप्त जानकारी नहुने हुँदा हामीलाई पनि गिरोहसम्म पुग्न समस्या हुन्छ ।’
कानूनी व्यवस्था
वन्यजन्तुको कारोबारलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तथा साइटिस महासन्धी १९७५ विरुद्धको अपराध मानिन्छ । यस्तो अपराध गर्नेलाई ५ बर्षदेखि १५ बर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । वन्यजन्तु संरक्षणकै लागि भनेर नेपाली सेना, नेपाल प्रहरी, वन विभाग, राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभाग लगायतका विभिन्न अंगहरु परिचालित छन् ।
यसबाहेक गैरसरकारी क्षेत्रबाट पनि ठूलो मात्रामा स्रोतसाधन र जनशक्ति वन्यजन्तुको संरक्षणका लागि परिचालन छ । तर, तस्करी नियन्त्रणका लागि अपेक्षित नतिजा निस्कन सकेको छैन । सरोकारवाला निकायबीचको आपसी सहकार्यले केही हदसम्म वन्यजन्तुको तस्करी कम गर्न सकिने सम्वद्धहरुको भनाई छ । स्थानीय समुदायको सहभागिता, उच्चतम प्रविधिको प्रयोग, सरकारी निकायबीच अपसी सहकार्यमा तस्करी नियन्त्रणका प्रयाससमेत भइरहेका छन् ।
।