सूचनाको शक्ति - The Power Of Information

        

नक्कली कर्मचारको ठगीधन्दा

सिलाउँदै गरेका सरकारी पोशाकसहित सुर्खेतमा नक्कली सिडिओ पक्राउ

बाँके । आफु सिडिओ र प्रमुख प्रशासकीय अधिकृत भएको भन्दै ठगी गर्ने पक्राउ परेका छन् । जाजरकोटको छेडागाढ नगरपालिका–२ डेढकुलाका २७ वर्षीय दिपक बुढालाई बिहीबार वीरेन्द्रनगरबाट पक्राउ गरेको हो । प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले उनलाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको आग्रहमा उनलाई पक्राउ गरिएको जनाइएको छ । नेत्रकुमारी पौडेलको जाहेरीका आधारमा महानगरीय अपराध महाशाखाले उनीमाथि अनुसन्धान अघि बढाएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्दा बुढाले ‘नागुनाथ गाउँपालिका हुम्ला’ लेखिएको परिचयपत्र भिरेका थिए । यो नाम गरेको गाउँपालिका नै छैन ।

प्रहरीका अनुसार बुढा दुई वर्षअघि दैलेखको सहायक प्रमुख जिल्ला अधिकारी हुँ भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा पनि पक्राउ परेका थिए । ‘कहिले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत त कहिले सहायक प्रमुख जिल्ला अधिकारी हुँ भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले भने ।

उनका अनुसार जाहेरी महानगरीय अपराध महाशाखा काठमाडौंमा परेकाले अड्डासार गरेर काठमाडौं पठाउने तयारी भइरहेको छ । सरकारी यूनिफर्म लगाएरै उनले ठग्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले बुढाको साथबाट सरकारी परिचयपत्रका साथै भ्याली काठमाडौं टेलर्स र न्यू फेसन टेलर्स सुर्खेतमा सिलाउँदै गरेका सरकारी पोशाक बरामद गरेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार १२:५८