सूचनाको शक्ति - The Power Of Information

        

अपराध

सुर्खेतमा लेखापाललाई फसाउन झुठो जाहेरी दिने महिलाको ‘हनी ट्रयापिङ’ धन्दा

बाँके । बलात्कारको झुठो जाहेरी दिँदा सुर्खेत जिल्ला अदालतले केही दिनअघि साढे तीन वर्षको सजाय तोकेकी महिलालाई महानगरीय अपराध महाशाखाको टोलीले उनका एकजना साथीसहित पक्राउ गरेको छ । दुबैले योजना बनाएर काठमाडौंका एकजना ब्यक्तिलाई बलात्कारको आरोपमा फसाउने भन्दै रकम असुली रहेको जाहेरीपछि महाशाखाले दुबैलाई पक्राउ गरेको हो ।

प्रहरीले सुर्खेत बीरेन्द्रगर घर भएकी लालसरी शाही (ललिता) र उनकी सहयोगी कल्पना हमाललाई पक्राउ गरेको हो । दुुबैले कोटेश्वर बस्ने एक पुरुषलाई ललिताले सुन्धारास्थित गेष्ट हाउसमा भेट्न बोलाएर कोठामा पुुगेपछि आफैले अश्लिल गतिविधी गरेको र त्यसको भिडियो कल्पनाले खिचेका थिए । ५२ वर्षे ती पुुरुषलाई ललिताले सुन्धारास्थित होटलमा बसेको समयमा सबै पैसा हराएको कारणले समस्यामा परेको हुँदा सहयोग गरिदिन अनुरोध गरेर बोलाइन् ।

एक वर्षदेखि चिनजानमा रहेका उनी होटल पुगेपछि बार्गेनिङका लागि भिडियो खिचिएको महाशाखाले जनाएको छ । दुबैले पटक–पटक गरेर तीन लाख रुपैयाँ लिएको र थप ८ लाखको माग गरिरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लालसरी शाही र कल्पना हमालले विरेन्द्रनगर नगरपालिकाका लेखा शाखामा कार्यरत लेखापाल खेमराज शर्मालाई फसाउने नियतले होटलमा भेट्न बोलाई उनीविरुद्ध ५ असोजमा जाहेरी दिएका थिए ।

यही मुद्दामा अदालतले लालसरीलाई साढे तीनवर्ष कैदको सजाय सुनाएको हो । यस्तै लालसरी शाहीले राजु धिताललाई २०६६ मंसिरमा अपहरण गरी कर्तव्य गरेको घटनामा बाँके जिल्ला अदालतबाट १४ वर्ष जेल सजायको फैसला भएकोमा सात वर्ष जेल बसी उच्च अदालत, बाँकेको फैसलाले २२ मंसिर २०७४ मा रिहा भएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार १८:५५