सूचनाको शक्ति - The Power Of Information

        

अपराध

को हुन् भारतको श्रावस्तीबाट समातिएका नेपालगन्जका ‘सन्काहा प्रेमी’ ?

बाँके । १५ वर्षीया किशोरीलाई चक्कु देखाएर जबर्जस्ती नेपालगन्ज बसपार्कस्थित एक होटलमा लगी बलात्कार प्रयास गर्ने र निर्घात कुटपिट गरी डेढ महिनादेखि फरार रहेका युवकलाई नेपालको इन्टरपोल शाखा र इन्डियन टास्क फोर्स (एसटीएफ)को सहयोगमा भारतको श्रावस्तीस्थित जमुनाह बजारबाट पक्राउ गरिएको छ ।

१६ माघमा भएको घटनापछि फरार रहेका नेपालगन्ज उपमहानगरपालिकाका–१४ घासी टोलका जुनेद हलवाई (मोहम्मद उमर)लाई भारत श्रावस्ती जमुना बजारस्थित मामा मोहम्मद हसिमको घरमा लुक्दै आएका थिए । अनुसन्धानमा संलग्न प्रहरीका अधिकारीका अनुसार मुस्लिम समुदायको बाहुल्यता रहेको सो क्षेत्रबाट उमरलाई सोमबार राति पक्राउ गरी मंगलबार नेपाल प्रहरीलाई बुझाएको थियो ।

युवकलाई पक्राउ गर्नका लागि काठमाडौंस्थित इन्टरपोल शाखाका डीएसपी निशान्त श्रीवास्तव र ग्राउण्डमा बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास खड्काको टोली खटिएको थियो । उनीहरुले युवकलाई भेट्न जाने परिवारका सदस्यमार्फत एक महिनादेखि निगरानी गर्दै आएका थिए । जुनेदका बाबु हसिम उपचारका लागि लखनउ गएदेखि नै भारतको एसटीएफले उनलाई पच्छाइरहेको थियो ।

उनी उपचारपछि श्रावस्ती गएपछि उमरको ठेगाना पत्ता लागेको हो । अनुसन्धान अधिकारीका अनुसार युवक लुकेको क्षेत्र ७५ प्रतिशत मुस्लिम बाहुल्य क्षेत्र हो । भारतीय सत्ता निकट एक नेताको संरक्षणमा उनी बसेका थिए । २०/२१ वर्षीय ती युवकलाई सोमबार जमुनाह पुलिस चौकीको नजिकबाट ३ मोटरसाइकलमा रहेका ६ जना अधिकारीहरुले पक्राउ गरी नेपाल ल्याएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक ओमबहादुर रानाले युवकलाई मंगलबार पक्राउ गरिएको पर्दाफासलाई जानकारी दिए । उनले बुधबार पत्रकार सम्मेलन गरेर जुनेदलाई सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनमा उनलाई सीमानाकाबाट पक्राउ गरिएको दाबी गरिएको छ । १६ माघमा युवकले विद्यालयबाट फर्र्किकदै गरेकी किशोरीलाई चक्कु देखाई नेपालगन्ज बसपार्कस्थित एक होटलमा जर्बजस्ती लगेका थिए ।

आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेपछि युवकले किशोरीलाई माथि बलात्कार प्रयास गरेका थिए । तर बलात्कार गर्न नसकेपछि निर्घात कुटपिट गरेका थिए । किशोरीको मुख, ओठ र घाँटीमा जुत्ता र मुड्की प्रहार भएको थियो । घटनाको चार दिनसम्म पनि किशोरीको मुखमा जुत्ताको डाम नै रहेको आफन्तले बताएका छन् । डोरीले घाँटी कसेर नाक, कान र मुख नाकबाट रगत आएपछि अचेत अवस्थामा मरेको ठानी युवक भागेका थिए ।

घटनाको तीन दिनपछि पीडित किशोरीको आमाले जबर्जस्ती करणी उद्योग र ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएकी थिइन् । आफूविरुद्ध उजुरी परेको थाहा पाएपछि युवक भारततर्फ फरार भएका थिए । कमजोर आर्थिक अवस्था भएकी पीडित किशोरीलाई भेरी अस्पतालमा उपचार गरेर एउटा गैरसरकारी संस्थाको सेल्टरमा राखिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार १८:३९