बझाङ । बझाङको बित्थडचिर गाउँपालिका–४ देउलेख स्थित देवश्वरी माध्यमिक विद्यालयमा कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थीहरुले च्याउ खेति सूरु गरेका छन् । कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थीहरुले सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक ज्ञान पनि हासिल गर्न च्याउखेती सुरु गरेका हुन् ।
प्राविधिक शिक्षा अध्ययन गर्दै आएका विद्यार्थी व्यावहारिक (प्राक्टिकल) ज्ञान लिन च्याउखेती, तरकारी खेती गर्न थालेका छन् । विद्यार्थीहरुलाई अध्ययनसँगै व्यावहारिक (प्राक्टिकल) ज्ञान दिन च्याउखेति सुरु गरेको प्रशिक्षक नरेश विष्टले बताए । स्रोत साधनका अभावका बाबजुद पनि आफुहरु विद्यार्थीलाई सीप सिकाउन लागिपरेको उनले बताए ।
अध्ययनरत विद्यार्थीलाई च्याउखेती मात्रै नभएर तरकारी खेती, फलफुल खेती, नगदेबाली लगाएतका बिषयमा व्यावहारिक (प्राक्टिकल) सहित अध्ययन गराउदै आएको समेत बताए । कृषि कार्यक्रम संयोजक दिनेश बोहराले च्याउले उत्पादनले राम्रो बजार पाउने र अध्ययनपछि विद्यार्थीहरु स्वरोजगार बन्न ठूलो सहयोग पुग्ने बताए ।
बजार पाएमा च्याउ खेतीबाट मनग्य आम्दानी हुने उनको भनाई छ । विद्यार्थीहरुले च्याउ खेतीको लागि टनेल तयार गरि पहिलो पटक १५० पोकामा बिउ राखेको समेत बताएका छन् । देवेश्वरी माविमा प्राविधिक शिक्षातर्फ १८ महिने कृषि जेटिए पठनपाठन हुने गरेको छ । झण्डै ३५ जना विद्यार्थी अध्ययन गरीरहेका छन् ।
अध्ययनरत विद्यार्थीहरुले प्राक्टिकल गर्न विद्यालयबाट सहयोग पाएको बताएका छन् । विद्यार्थीहरुले उत्पादन गरेको च्याउको बजारमा पर्याप्त माग रहेकोले स्थानिय बजारमा कम खपत हुने युवा नेता गोविन्द ढाटले बताए । उनले स्थानीयस्तरमै गरेको च्याउ खेती नयाँ प्रविधि भएको बताउँदै अध्ययनपछि विद्यार्थीहरुले सीप सदुपयोग गर्नुपर्ने बताए ।
साथै यसरी कृषि बिषय अध्ययन गर्ने विद्यार्थीहरुलाई स्वरोजगार बनाउन स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने स्थानीयबासी योगेन्द्र बोहराले बताएका छन् । उनले स्थानीय सरकारले प्राविधिक अध्ययन गरेका बिद्यार्थीहरुलाई व्यवसायी बनाउन पहल चाल्नुपर्ने धारणासमेत राखेका छन् ।
।