सूचनाको शक्ति - The Power Of Information

        

समाचार

मान्छे खाने बाघ नियन्त्रणमा

बर्दिया । मान्छे मार्न पल्किएको बर्दिया निकुञ्जको बाघ बर्दियाको गेरुवा क्षेत्रबाट नियन्त्रणमा लिइएको छ । पछिल्लो समय निरन्तर बाघले मानिसमाथि आक्रमण गर्ने क्रम बढेसँगै निकुञ्जको टोली बाघ नियन्त्रण गर्न खटिएको थियो ।

बुधबार मान्छे मार्ने बाघ बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर ४ उत्तरी गोलाको राजिपुर नाकाबाट भाले पाटेबाघ नियन्त्रणमा लिइएको र डाट गरेर निकुञ्ज मुख्यालय ल्याइएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।

पाटेबाघले विगत केहि महिनादेखि गोला तथा राजपुर क्षेत्रमा पशु चौपाया तथा स्थानीयको समेत ज्यान लिएर त्रास फैलाएको थियो । बाघ क्यामेरा ट्यापीङ्ग विधिबाट पहिचान गरी नियन्त्रणमा लिइएको हो ।

बाघ झण्डै १२, १३ बर्षको बुढो भएकाले त्यसको दाँत र नङ्ग्रा पनि झरेको निकुञ्जको प्राविधिक टोलीले जनाएको छ । उक्त बाघलाई नियन्त्रणमा लिएर बर्दिया निकुञ्जको रम्मापुर सेक्टरमा राख्ने निकुञ्ज मुख्यालयले जनाएको छ । बर्दियामा बाघको आक्रमणबाट एक वर्षमा १० जनाको ज्यान गइसकेको छ ।

बाघ आक्रमण बढेपछि जङ्गलमा हिँडडुल गर्न रोक

बाघले आक्रमण गर्ने डर बढेसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकहरूलाई जङ्गलमा हिँडडुल गर्न रोक लगाइएको छ । केही महिनादेखि पाटे बाघको आक्रमण बढेको भन्दै निकुञ्जले विज्ञप्ति निकालेर निकुञ्जमा सञ्चालन भैरहेका पर्यटकीय गतिविधिहरु मध्ये ‘जङ्गल वाक’ गर्न बन्द गरिएको जानकारी प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए ।

पर्यटकीय गतिविधि अन्तरगत जङ्गल ड्राइभ गर्नेहरुले विशेष सावधानी अपनाउन समेत आग्रह गरिएको छ । हिजो एक जना महिलाको ज्यान गएसँगै बर्दिया राष्ट्रिय निकुञ्ज आसपास क्षेत्रमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १० पुगिसकेको छ ।पछिल्लो समय बर्दियाका बाघ आक्रमणका घटना बढ्न थालेपछि स्थानीयबासी थप त्रसित बनेका छन् ।

बाघ आक्रमणका घटना दिनहुँ बढिरहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यलयले सूचना जारी गरेर निकुञ्ज तथा डिभिजन वन र सामुदायिक वनमा गाइ भैसी चराउन तथा घाँस दाउरा लिन नजान पटक पटक आग्रह गरिरहेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार १५:५९