सूचनाको शक्ति - The Power Of Information

        

समाचार

वन्यजन्तुलाई पानीको व्यवस्थापन गर्न बाँके निकुञ्जमा पानी पोखरी

बाँके राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अन्तरगत गिद्देनीचौरमा वन्यजन्तुको खानेपानीको व्यवस्थापनका लागि निर्माण गरिएको पोखरी ।

बाँके । गर्मी र सुक्खायाममा बाँके राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुलाई आवश्यक पर्ने पानीको व्यवस्थापन गर्न पानी पोखरी निर्माण गरिएका छन् । निकुञ्जका अनुसार निकुञ्जभित्र सोलार सहितको डिप बोरिङ गरिएका पाँचवटा पानी पोखरीको निर्माण गरिएका छन् । निकुञ्जका सूचना अधिकारी महेश न्यौपानेका अनुसार सोलारबाट मेसिन चार्ज हुने र पोखरीमा पाइपबाट दिनभरि नै पानी आइरहने व्यवस्था भएको छ ।

जसअनुसार पाँचवटा डिप बोरिङ सहितका पोखरी निर्माण गरेर पानीको प्रबन्ध गरिएको छ । उनले सोही प्रकारका तीनवटा पोखरी निर्माणको क्रममा रहेको र पाँचवटा थप पोखरीको माग गरिएको बताए । हात्तीले पाइप देख्ने बित्तिकै तोडफोड गरिदिने हुँदा हात्तीबाट बचाउनका लागि पाइपलाई जमिनमुनि गाडिएका बताइएको छ ।

जनावरका लागि बाह्रैमास पानीको आवश्यकता पर्ने भएकाले बोरिङ सहितका पोखरी बनाउन आवश्यक रहेकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बजेटको व्यवस्था गरेको हो । पानीको समस्या हुन नदिन निकुञ्जमा आकाशे पानी जम्मा गर्नका लागि छुट्टै ३० वटाजति पोखरी खनिएको पनि निकुञ्ज व्यवस्थापनले जनाएको छ । सोही कारणले विशेष गरी सुक्खा र गर्मीयामका लागि सोलारसहितका डिप बोरिङ गरिएका पोखरी निर्माणलाई प्राथमिकतामा राखिएको निकुञ्जले जनाएको छ ।

हाल गोठेरी, गन्धैली, शमशेरगन्ज नजिक, बुच्चापुर र निकुञ्ज पोस्ट नजिक सोलार र डिप बोरिङसहितका पानी पोखरी सञ्चालनमा रहका छन् । बाँके राष्ट्रिय निकुञ्जमा चुरेको फेदमा पानीको समस्या छैन । राजमार्ग छेउका वनमा पानीको समस्या रहने गरेको छ । सोही कारणले पानीको खोजीमा पनि जनावरहरू बस्तीमा छिर्ने गरेका छन् । निकुञ्जका जनावरलाई पानी र घाँसे मैदानको व्यवस्था गर्न निकुञ्ज लागि परेको छ । निकुञ्जका अनुसार चिसापानी क्षेत्रमा पानीको मुहानबाट पानी ल्याएर पोखरी बनाइएको पनि बताए ।

बाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा अहिले २१ वटा बाघ रहेका छन् । निकुञ्जमा बाघका लागि चाहिने आहरा प्रजातिका जनावर प्रशस्त रहेका छन् । गत वर्ष बाघको आक्रमणमा परी बाँकेका दुई जनाले ज्यान गुमाएकोमा चालू आर्थिक वर्षमा भने हालसम्म बाँकेमा बाघले मान्छेलाई आक्रमण नगरेको निकुञ्जले जनाएको छ । निकुञ्ज विभागले विशेष गरी पानीको स्रोत नभएका सुक्खा क्षेत्र भएका पर्सा, चितवन, बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पानी पोखरी निर्माण गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार १५:००