बाँके । बाँके जिल्लामा पहिलो र दोस्रो चरणमा गरेर हालसम्म ३० हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्ला कोभिड–१९ खोप व्यवस्थापन केन्द्रका अनुसार पहिलो चरणमा नौ हजार ८३३ जना र दोस्रो चरणमा हालसम्म २० हजार ७८६ जना गरेर ३० हजार ६१९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
जिल्ला कोभिड–१९ खोप व्यवस्थापन केन्द्रका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जिल्लामा लक्षित समूहले दुवै चरणमा उत्साहित भएर खोप लगाएको बताए । उनले लक्ष्यको ८१ प्रतिशतले खोप लगाएको समेत बताए । पहिलो चरणमा स्वास्थ्यकर्मी, पत्रकार, निजामती कर्मचारीलाई खोप लगाइएको थियो ।
त्यस्तै दोस्रो चरणमा पहिलो चरणमा छुटेका ६५ वर्षमाथिका नागरिकलाई खोप लगाइएको जिल्ला कोभिड–१९ खोप व्यवस्थापन केन्द्रले जनाएको छ । जिल्ला कोभिड–१९ खोप व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार दोस्रो चरण अन्तरगत हालसम्म सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकामा पाँच हजार ५३ जनाले खोप लगाएका छन् ।
जिल्ला कोभिड–१९ खोप व्यवस्थापन केन्द्रका अनुसार बैजनाथ गाउँपालिकामा दुई हजार ८६९, कोहलपुर नगरपालिकामा दुई हजार ८६८, खजुरा गाउँपालिकामा दुई हजार ६२६, राप्तीसोनारी गाउँपालिकामा दुई हजार ६०५, जानकी गाउँपालिकामा एक हजार ८३२, नरैनापुर गाउँपालिकामा एक हजार ६३९ र डुडुवा गाउँपालिकामा एक हजार २९४ जना ६५ गरेर जिल्लामा २० हजार ७८६ जना ६५ वर्षमाथिका नागरिकले खोप लगाएका छन् ।
बाँकेमा अब १२ जना सङ्क्रमित मात्र निको हुन बाँकी रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । नयाँ सङ्क्रमित फेला पर्ने क्रम घट्दै गएपछि अब भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका छ जना मात्र सङ्क्रमित निको हुन बाँकी रहेका छन् । त्यस्तै छ जना सङ्क्रमित होम आइसोलेसनमा रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन ओलीले बताए ।
।