सूचनाको शक्ति - The Power Of Information

        

सत्ता समीकरणको निचोड निकाल्न जसपाको बैठक बस्दै

काठमाडौं । वर्तमान राजनीतिक अवस्थामा सत्ता समीकरणका लागि संसदमा सानो तर महत्वपूर्ण संख्या रहेको दल जनता समाजवादी पार्टी नेपालको आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ ।

बिहान ११ बजेका लागि जसपाले बैठक डाकेको छ । उक्त बैठकले नेकपा एमाले नेतृत्वको वर्तमान सरकारलाई सघाउने अथवा तीन दलीय गठबन्धन बनाएर नयाँ सरकार बनाउने भन्ने विषयमा निर्णय लिने बताइएको छ ।

तर, जसपामा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीप्रति नरम र विरोधी गरी प्रष्ट दुई धार रहेको छ । तत्कालीन संघीय समाजवादी तर्फका नेताहरु ओलीविरोधी कित्तामा रहेका छन् भने तत्कालीन राजपा तर्फका नेताहरु ओलीको समर्थनको पक्षमा रहेका छन् ।

संसदमा संख्या थोरै भएपनि अहिले ओलीलाई सरकार टिकाउन अथवा कांग्रेस माओवादीलाई नयाँ सरकार बनाउनका लागि जसपाको मुख्य भूमिका रहन्छ । त्यसैले जसपाको आजको बैठकलाई महत्वका साथ हेरिएको छ ।

जसपाको आज बस्ने बैठकले अहिलेको सत्ता समीकरणको विषयमा ठोस निर्णय लिने अपेक्षा कार्यकर्ता पंक्तिमा रहेको छ । तर, संसदीय दलमा नमिलेको विवाद केन्द्रीय कार्यकारिणी समितिमा मिल्नेमा जसपा कै सांसदहरुले आशंका व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार ०९:३२