काठमाडौं । एमाले केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहका सूर्य थापाले माधवकुमार नेपाल समूहले गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई प्रचण्डको निर्देशनमा हुन लागेको कथित गुट भेला भन्दै रमिता र गाईजात्राको संज्ञा दिएका छन् ।
ओलीको एकलौटी निर्णयपछि माधव नेपाल–झलनाथ खनाल पक्षले सानेपास्थित हेरिटेज गार्डेनमा दुई दिने राष्ट्रिय भेला बोलाएको र भेलाबारे मंगलबार दिउँसो पत्रकार सम्मेलनमार्फत जानकारी दिँदैछ ।
यो सूचना आएपछि थापाले सानेपामा हुने कथित गुटगत भेला प्रचण्डको निर्देशन र होमवर्क बमोजिमको मेला वा रमिता भएको आरोप लगाएका छन् ।
थापाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेकपा(एमाले)को नाममा सानेपास्थित महँगो हेरिटेज गार्डेनमा आयोजना गर्ने भनिएको कथित गुटगत भेला खासमा प्रचण्डको निर्देशन र होमवर्क बमोजिमको मेला, राम र रमिता हो ।’
थापाले माधव नेपाल पक्षलाई भेला रमिता कि गाईजात्रा भन्दै प्रश्न पनि गरेका छन् । ‘यसलाई चैत्र महिनामा प्रदर्शित गाईजात्रा पनि भन्न सकिन्छ । आफ्नो निहित स्वार्थका लागि नेकपा एमाले विभाजन गरी समाप्त गर्न चाहने तत्वहरुको उक्साहट र षड्यन्त्र हो,’ थापाले भनेका छन् ।
थापाले भेलाप्रति लक्षित गर्दै लेखेका छन, ‘पार्टी पद्धति,मूल्य, मान्यता र विधानको बर्खिलाप कार्य हो । फागुन २३ गते यता अर्याल होटलमा जारी गुटगत भेला, बैठक र समानान्तर गतिविधि ढाकछोपको निम्छरो र निरुपाय कोसिस हो ।
र, चैत २ गते धुम्बाराहीमा भएको छलफलमा अध्यक्षले भेला रोक्न दिनुभएको निर्देशनको ठाडो अवज्ञा हो ।’
।