सूचनाको शक्ति - The Power Of Information

        

बदनाम बन्दै प्रहरी संगठन

डिआइजीको लाइनमा कोहलपुर डिएसपीका बडिगार्डको ‘असुलीधन्दा’

पहुँचवाला ‘असुलीधन्दा’ प्रहरी कर्मचारीलाई इलाका, जिल्लादेखि डिआइजी कार्यालयको संरक्षण हुँदा प्रहरीको ‘असुलीधन्दा’ निकै फस्टाएको छ ।

बाँके । इलाका प्रहरी कार्यालय कोहलपुर बाँके मातहत कार्यरत तल्लो दर्जाका प्रहरी कर्मचारीहरुको ‘असुलीधन्दा’ले यतिबेला सिंङ्गो प्रहरी संगठन नै बदनाम बन्दै गएको छ । माथिल्लो तहका प्रहरी अधिकारीहरुको संरक्षणमा तल्लो तहका प्रहरी कर्मचारीबाट हुने ‘असुलीधन्दा’को पोल एकपछि अर्को गर्दै खुलिरहेको छ ।

प्रहरी हवल्दार भुवन शाह र प्रहरी जवान जितेन्द्र केसीको असुलीधन्दा कोहलपुरदेखि अगैयासम्म खुबै मौलाएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सुरक्षा खटिएका प्रहरी हवल्दार भुवन शाहले सात बर्षदेखि असुलीधन्दा चलाइरहेका छन् भने प्रहरी जवान जितेन्द्र केसी चलाइरहेको ‘असुलीधन्दा’ कोहलपुर क्षेत्रमा निकै चर्चा छ ।

प्रहरी जवान जितेन्द्रले कोहलपुर क्षेत्रका व्यवसायी, टिप्पर तथा ट्याक्टर व्यवसायी र बालुवा प्रशोधन तथा क्रसर उद्योगहरुबाट कमिसन उठाउने, मोटरसाइकल मर्मत तथा तेल हाल्न लगाएर आतंकित गर्दै आएका छन् । पहुँचवाला ‘असुलीधन्दा’ प्रहरी कर्मचारीलाई इलाका, जिल्लादेखि डिआइजी कार्यालयको संरक्षण हुँदा प्रहरीको ‘असुलीधन्दा’ निकै फस्टाएको छ ।

असुलीधन्दा मच्चाउनेमा प्रहरी हवल्दार भुवन र प्रहरी जवान जितेन्द्रभन्दा अब्बल मानिन्छन्, कोहलपुर डिएसपीका ‘बडिगार्ड’ विनोद वली । ‘बडिगार्ड’का रुपमा डिएसपीसँग रहेको पुरानै टोली हो । उनको ‘असुलीधन्दा’बारे इलाका प्रहरी कार्यालयका डिएसपी रबिन्द्र खनाल भने बेखबर रहेको कोहलपुर प्रहरी स्रोतले बतायो ।

डिएसपी खनालले यस बिषयमा आफूलाई कुनै जानकारी नभएको बताउँदै भने, ‘मसँग रहेको पुरानै टोली भएकाले विश्वस्त नै थिए । असुलीधन्दामै लागेको भए बुझेर तत्काल कारबाहीको प्रक्रिया थाल्छु ।’ उनले प्रहरी हवल्दार भुवन र प्रहरी जवान जितेन्द्रका बिषयमा जिल्लाले नै हेरिरहेको जानकारी दिँदै प्रहरी जवान विनोदका विषयमा बुझेर आवश्यक निर्णय लिने बताए ।

यो पनि पढ्नुहोस् : घुमुवा प्रहरी जवानको असुलीधन्दा, ‘डिआइजी कार्यालयको पत्र जिल्लामै थन्कियो’

प्रहरी संगठनलाई बदनाम गराउनेलाई कारबाही गर्ने बताउँदै डिएसपी खनालले गलत आचरण र गलत कार्य गर्नेलाई छुन नदिनेसमेत बताए । प्रहरी हवल्दार भुवन र प्रहरी जवानद्वय जितेन्द्र र विनोदका कारण मौलाएको असुलीधन्दाले कोहलपुर नगरपालिका तथा राप्तीसोनारी गाउँपालिका क्षेत्रका व्यवसायीहरु आजित छन् ।

लामो समयदेखि घुमुवाका रूपमा परिचालित बदनाम भुवन र केसीको ‘असुलीधन्दा’मा कोहलपुरका व्यवसायीदेखि मेडिकल कलेज कोहलपुरमा उपचारका लागि आउनुे गरेका बिरामीसम्म पर्ने गरेका छन् । लुम्बिनी प्रदेशका ‘डिआइजी’कै लाइनमा प्रहरी जवान विनोदले ‘असुलीधन्दा’ चलाएको प्रहरी स्रोत बताउँछ ।

प्रहरी हवल्दार भुवनले विगत सात बर्षदेखि नेपालगन्ज मेडिकल कलेजमा कोहलपुरमा उपचारका लागि आउने घाइते तथा बिरामीलाई औषधी खरिदका लागि उनले हात समातेर आफ्नो मेडिकलमा पठाउने र महँगोमा औषधी भिडाउने गरेको रहस्य खुलेपछि अहिले अनुसन्धानमा परेको प्रहरी स्रोतले जनाएको छ ।

यता डिएसपीका बडिगार्डको प्रहरी जवान विनोदको ‘असुलीधन्दा’ अन्तरगत कोहलपुर क्षेत्रका अन्य व्यवसायी नभई कोहलपुर तथा राप्तीसोनारी क्षेत्रका टिप्पर तथा ट्याक्टर व्यवसायी र बालुवा प्रशोधन तथा क्रसर उद्योग पर्दछन् । कोहलपुर प्रहरी स्रोतले भन्यो, ‘डिआइजीको संरक्षणबिना यो काम सम्भव पनि छैन ।’

स्रोतका अनुसार कोहलपुर तथा राप्तीसोनारी क्षेत्रका बैध तथा अवैध क्रसर उद्योग, ढुङ्गा, गिट्टी, बालुवाका ठेकेदारहरुसँग कमिसनको मोलमोलाई गर्ने काममा प्रहरीकै डिएसपीका बडिगार्ड विनोदको संलग्नता छ । प्रहरी स्रोतका अनुसार यस विषयमा भर्खरै कोहलपुरमा आएका डिएसपी रविन्द्र खनाललाई भने जानकारी छैन ।

यो पनि पढ्नुहोस् : नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ‘बिचौलिया प्रहरी हवल्दार’

प्रहरी हवल्दार भुवन र प्रहरी जवान जितेन्द्र घुमुवाका रुपमा कार्यरत छन् भने प्रहरी जवान विनोद डिएसपीका बडिगार्डको रुपमा लामो समयदेखि कार्यरत रहेका छन् । ‘असुलीधन्दा’मा अब्बल मानिने भएकाले डिआइजीकै लाइनमा काम गरिरहेको स्रोत बताउँछ । प्रहरी हवल्दार भुवनका विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेले छानविन गरिरहेको जनाएको छ ।

प्रहरी जवान जितेन्द्रलाई कारबाही गर्न भन्दै २०७७ माघ २७ गते लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बाँके प्रहरीलाई पत्र पठाएको भए पनि हालसम्म काबाही हुन सकिरहेको छैन । तर, जितेन्द्रलाई बाँकेका प्रहरी प्रमूखकै संरक्षण रहेकाले काबाही नभएको पनि प्रहरी स्रोत बताउँछ । स्रोतका अनुसार प्रहरी जवान केसीविरुद्ध प्रदेश प्रहरी कार्यालयमा बेनामे उजुरीसमेत परेको छ ।

तस्करदेखि व्यापारीहरूसँग रकम असुली गर्दै आएको भन्दै बेनामे उजुरी परेको प्रहरी स्रोतले जनाएको छ । प्रदेश प्रहरी कार्यालयले पठाएको पत्रसहितको निर्देशनलाई इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला प्रहरी कार्यालय बाँकेले कार्यान्वयन नगर्दा बाँकेमा घुमुवा प्रहरीको ‘असुलीधन्दा’ अभियान निकै चम्किएको छ ।

प्रहरीका केही उच्च अधिकारीको संरक्षणमा रहेको भनिएका ‘असुलीधन्दा’वाल प्रहरी कर्मचारीहरुलाई कारबाही नहुँदा यहाँका उद्योगी व्यवसायीहरु प्रहरीप्रति शसंकीत छन् । स्रोतका अनुसार उनीहरुले मेडिकल कलेज र क्रसर व्यवसायीसँग मात्रै नभएर कोहलपुरका सामान्य ठेला व्यवसायीदेखि छोटो दुरीका सवारीसाधनबाट पनि रकम असुल्दै आएका छन् ।

उनीहरुले गैरकानूनीरूपमा उठाएको रकम प्रहरीका उच्च अधिकारीलाई समेत पुर्याउने गरेको उनकै समकक्षी घुमुवाहरू बताउँछन् । असुली र बाँडफाँडमा गतिलै सेटिङ्ग भएकोले प्रदेशको पत्र आउँदा पनि कारबाही भएको छैन । तालुक निकायले कारबाहीका लागि पत्र पठाउँदासमेत बेवास्ता हुनुले ‘असुलीधन्दा’को गतिलो सेटिङ्ग भएको पुष्टी हुन्छ । यस विषयमा प्रदेश प्रहरी प्रमूखसँगको सम्पर्क प्रयास सफल हुन सकेन ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतवार १३:३७