सूचनाको शक्ति - The Power Of Information

        

मेडिकल कलेजमा विचौलिया प्रकरण

घुमुवा प्रहरी जवानको असुलीधन्दा, ‘डिआइजी कार्यालयको पत्र जिल्लामै थन्कियो’

बाँके । प्रहरी संगठनभित्र कति कारवाही पर्ने गरेका छन्, धेरैलाई घटुवा हुने गरेको छ । नसिहत पाउनेहरू पनि धेरै छन्, तर पहुँचमा हुनेलाई कारबाही हुँदैन । उसलाई झन् संरक्षण हुन्छ । त्यसो हुँदा उसले पहुँचको आडमा असुलीधन्दा मच्चाउँछ । यस्तै असुलीधन्दा मच्चाउनेमा पर्छन्, नेपाल प्रहरीका एक जना प्रहरी जवान जितेन्द्र केसी ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ्गले मिति २०७७/१०/२७ गते जिल्ला प्रहरी कार्यालय बाँकेलाई कारबाही गरी नतिजा जाहेर गर्न भन्दै पठाएको पत्र अहिलेसम्म अलपत्र परेको छ । जिल्ला प्रहरी कार्यालयले उनलाई कारबाही नगर्दा उनको असुलीधन्दा झन् मौलाएको छ । प्रहरी जवान केसीको असुलीधन्दाले अहिले कोहलपुर क्षेत्रका व्यापारीहरू आजित बनेका छन् ।

लामो समयदेखि घुमुवाका रूपमा परिचालित प्रहरी जवान केसी बदनाम प्रहरी हुन् । प्रहरी जवान केसीले केही टिप्पर तथा ट्याक्टर व्यवसायीहरु र बालुवा प्रशोधन तथा क्रसर उद्योगहरुबाट रकम उठाई कमिसन लिने गरेको तथा तेल हाल्न र मोटरसाइकल मर्मत गर्न लगाएर व्यवसायीलाई आतंकित गर्ने गरेको जनाइएको छ ।

प्रदेश प्रहरी कार्यालयले पठाएको पत्रसहितको निर्देशन इलाका प्रहरी कोहलपुर र बाँके प्रहरीले कार्यान्वयन नगर्दा बाँकेमा घुमुवाको असुली अभियानले तीब्रता पाएको देखिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत घुमुवा प्रहरी जितेन्द्रजङ्ग केसीमाथि कोहलपुर क्षेत्रमा असुली गरेको निवेदन प्रदेश प्रहरीमा परेपछि प्रदेश प्रहरीले तत्काल उनीमाथि कारवाही गरी नतिजा पठाउने बाँके प्रहरीलाई पत्राचार गरेको थियो ।

डिआइजी रहने प्रदेश कार्यालयले निर्देशनसहित पत्र पठाएको भए पनि जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरले चासो नदेखाउँदा असुलीधन्दाका नाइके प्रहरी जवान केसीमाथि कारवाही हुन नसकेको खुलेको छ । बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक ओमबहादुर राना र कोहलपुरका तत्कालिन प्रहरी नायव उपरीक्षक कुलदिप चन्दको मिलेमतोमा उनलाई कारबाही हुनबाट जोगाइएको छ ।

पछिल्लो समयमा इलाका प्रहरी कार्यालय कोहलपुरको प्रमूख भएर आएका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले पनि उनलाई कारबाही गर्न चासो नदेखाएको कोहलपुर व्यवसायीहरु बताउँछन् । बाँकेका प्रहरीका केही उच्च अधिकारीको संरक्षणमा रहेका भनिएका केसीलाई डिआइजी कार्यालयबाट कारवाहीको पत्र आउँदासमेत कारबाही नहुँदा कोहलपुरका व्यवसायीहरु प्रहरीप्रति शसंकीत बनेका छन् ।

प्रदेश प्रहरी कार्यालय दाङ्गको लेटर प्याडमा ०७७/०८८ दर्ता नम्बर भई १८२९ नम्बरको चलानीमा बाँके प्रहरीलाई उक्त पत्र आएको देखिएको छ । प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काको प्रदेश प्रहरी कार्यालयले प्रहरी जवान केसीलाई कारवाहीका लागि पत्र पठाएको थियो । तस्करदेखि व्यापारीहरूसँग रकम असुली गर्दै आएको भन्दै प्रहरी जवान केसीविरुद्ध प्रदेश प्रहरी कार्यालयमा बेनामे उजुरीसमेत परेको प्रहरी स्रोत बताउँछ ।

उक्त पत्रमा राप्तीसोनारीका क्रसर ठेकेदार मनोज केसीबाट मोटो रकम असुली गर्दै मोटरसाइकलमा तेल हाल्नका लागि थप समेत असुल्दै आएको खुलाइएको छ । प्रहरी जवान केसीले अहिले पनि कोहलपुर क्षेत्रबाट दैनिक यो वा त्यो ढंगबाट चरम रकम असुली गरिरहेका छन् । उनले क्रसर व्यवसायीमात्रै नभई कोहलपुर बजारका सामान्य ठेला व्यवसायीदेखि छोटो दुरीका सवारी साधनबाट पनि रकम असुल्दै आएको सवारी चालकहरू बताउँछन् ।

उनले यसरी गैरकानूनीरूपमा उठाएको रकम कोहलपुर डिएसपीदेखि प्रहरीको उच्च अधिकारीलाई समेत पुर्याउने गरेको उनकै समकक्षी घुमुवाहरू बताउछँन् । असुली र बाँडफाँडमा गतिलै सेटिङ्ग भएकोले प्रदेशको पत्र आउदा पनि कोहलपुरका डिएसपीले केसीमाथि कारवाहीको कुनै प्रक्रिया अघि बढाएका छैनन् । प्रहरी जवान जितेन्द्रले कोहलपुर क्षेत्रका यातायात व्यवसायीदेखि सर्वसाधराण र व्यवासायी तथा ठेकेदारदेखि होटल व्यवसायीबाट समेत चरम असुली गर्दे आएको यसअघि पनि आरोप लागेको थियो ।

पछिल्लो समय कोहलपुर मेडिकल कलेजमा कार्यरत हवल्दार भुवन शाहसँग मिलेर अस्पतालमा उपचारका लागि आउने विरामीसँगै असुली गर्ने गरेको खुलेको छ । हवल्दार शाहसँग गतिलै समबन्ध बनाएका केसीले विरामीका आफन्तलाई फकाई फुलाई आफनो नजिकको मेडिकलमा औषधी खरिद गर्न लगाउने, कोहलपुरमा लखनउ लगायतका ठाउँमा रिफर गरिएका विरामीलाई लखनउको सामरा अस्पताल पठाएर कमिशन लिने गरेको पनि पीडित विरामीका एक जना आफन्तले बताए ।

मेडिकल कलेज कोहलपुरमा उपचारका लागि आउने घाइते तथा बिरामीलाई जितेन्द्रको सहयोगमा आवश्यक पर्ने औषधी खरिदका लागि उनले आफ्नो मेडिकलमा पठाउने र महँगोमा औषधी भिडाउने गरेको खुलेको छ । हवल्दार शाहले साईकुमारी फार्मेसीमा लगानी गरेको पनि स्थानीय बताउँछन् । पहिला शाहले सवारी दुर्घटनाको घटनामा आवश्यक पर्ने औषधी मेडिकल कलेजको उत्तर गेट नजिकै रहेको भुषाल मेडिकलबाट पठाउने गरेका थिए ।

 

 

प्रकाशित मिति : १ चैत्र २०७७, आइतवार ११:४७