बाँके । प्रहरी हिरासतमा रहेका कथित सामाजिक अभियन्ता आशिष मल्ल ठकुुुुरीलाई पैसा दिएका थप दुई जना बाँके प्रहरीको सम्पर्कमा आइपुगेका छन् । मल्लले पैसा लिएर पनि प्रहरी बनाउन नसकेपछि पैसा बुझाएकाहरु धमाधम प्रहरीको सम्पर्कमा आउन थालेका हुन् ।
यसअघि सल्यानका भीमबहादुर घर्ती र तारा महताराबाट ६ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि प्रहरी खोरमा पुगेका कथित सामाजिक अभियन्ता ठकुुुुरीले आफूहरुसँग तीन लाख रुपैयाँ लिएर ठगेको भन्दै शुक्रबार फेरि दुई जनाले उजुरी दिएका छन् ।
दुई जनामध्ये एक जनाले दुई लाख र अर्काले एक लाख रुपैयाँ दिएको बाँके प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । प्रहरीमा भर्ना गरिदिने प्रलोभनमा पार्दै ६ लाख रुपैयाँ ठगी गरेका ठकुरीलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो ।
दुई जनाले तीन–तीन लाख रुपैयाँ ठगिएको उजुरीपछि बिहीबार पक्राउ परेका मल्ललाई ठगी मुद्दामा कारबाही गर्ने तयारी भएको छ । आजै उनलाई अदालतबाट म्याद थपिएको छ । उनीमाथि थप अनुसन्धान सुरु भइसकेको प्रहरी उपरीक्षक रानाले जानकारी दिए ।
पीडितको जाहेरीका आधारमा ठकुरीलाई बिहीबार राप्तीसोनारी गाउँपालिका–६ बाट पक्राउ गरिएको थियो । ठकुरीले पीडितहरुबाट एकपटक चार लाख नगद र अर्को पटक २ लाख आइएमईमार्फत बुझेको प्रहरीसमक्ष बताइसकेका छन् ।
।