सूचनाको शक्ति - The Power Of Information

        

समाचार

बाघको आक्रमणबाट बर्दियामा आठको मृत्यु

बाँके । चालु आर्थिक वर्षको अहिलेसम्म बाघको आक्रमणबाट बर्दियामा आठ जनाको मृत्यु भएको छ । पछिल्लो समय मध्यवर्ती क्षेत्रमा बाघको आतङ्क बढ्दै गएको छ । मधुवन नगरपालिका–३ स्थित कोठियाघाट सामुदायिक वन र सम्झना सामुदायिक वनको सीमा क्षेत्रमा घाँस काट्न गएकी मधुवन नगरपालिका–३ की २८ वर्षीया रेनुका सुनारलाई बाघले आक्रमण गरेर ज्यान लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार घटना बुधबार दिउँसो १ः५० बजे भएको थियो । खोजतलास गर्ने क्रममा प्रहरीले उनको शव दुवै सामुदायिक बनको सिमानामा फेला पारेको उनले बताए । अघिल्लो सातामात्रै राजापुर नगरपालिका कालाबन्जरका ६५ वर्षीय लालबहादुर थारूलाई बाघले आक्रमण गरेर ज्यान लिएको थियो ।

कम्मरदेखि तलको भाग खाइसकेको अवस्थामा उनको शव सामुदायिक वनमा भेटिएको प्रहरीले जनाएको छ । त्यसैगरी गत पुस १७ मा चिसापानी सडकखण्डमा मोटरसाइकलमा सवार कैलालीकी एक महिलालाई बाघले आक्रमण गरेर ज्यान लिएको थियो । ‘उनीहरुलाई आक्रमण गर्ने बाघलाई हामी नियन्त्रणमा लिने प्रयासमा छौं,’ प्रहरी नायब उपरीक्षक शाहीले भने । त्यस्तै गेरुवा गाउँपालिका–४ गिडरपुरमा दर्जनौं खसीबाख्रा बाघले आक्रमण गरेर मारेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार १६:४८