सूचनाको शक्ति - The Power Of Information

        

एमालेले डाक्यो केन्द्रीय कमिटी बैठक

काठमाडौं । सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग्याई दिएपछि एमालेले केन्द्रीय कमिटी बैठकको तयारी गरेको छ ।

पार्टी अलग भएपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठक चैत १ गते बस्ने तयारी भइरहेको नेताहरुले बताएका छन् ।

सर्वोच्चले एमालेलाई माओवादीबाट अलग्याए लगत्तै स्थायी कमिटी बैठक बस्ने भनेको पार्टीले पर्याप्त तयारी नपुगेको भन्दै अन्तिम समयमा बैठक स्थगित गरेको थियो ।

दुई धारमा विभाजित एमालेका नेताहरु एक ठाउँमा आएपछि केन्द्रीय कमिटी बैठकको तयारी गरिएको नेताहरुले बताएका छन् । बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल हुने बताइएको छ ।

एमाले ब्युँतिएपछि पनि पार्टीका नेताहरुबीच छलफल भने हुन सकेको छैन् । खासगरी माधव नेपाल पक्षले आफूहरुसँग छलफल र सल्लाह नगरी अध्यक्ष केपी शर्मा ओली अघि बढेको गुनासो गर्दै आएको छ ।

केन्द्रीय कमिटीको बैठकले आन्तरिक विवाद समाधान गर्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने र अन्य पार्टीबाट आएकालाई उचित जिम्मेवारी दिन नेतृत्वलाई म्यान्डेट दिने अपेक्षा गरिएको छ ।

केन्द्रीय कमिटीमा अध्यक्ष ओली पक्षको स्पष्ट बहुमत छ । ओली पक्षीय नेताहरुले माओवादी केन्द्रको धारमा लागेर सरकारविरुद्ध आन्दोलन गरेका माधव नेपाल र झलनाथ खनाल पक्षलाई पार्टीमा सम्मानजनक व्यवहार हुने बताएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार १०:३९