बैतडी । नेपाल सरकारको संस्थागत सुत्केरी बढाउने नीतिअनुरूप बैतडीको शिवनाथ गाउँपालिकाले ‘सुत्केरीलाई उपाध्यक्षको कोसेली’ कार्यक्रम सञ्चालन गरेको छ । एक हजार दिनका आमा तथा शिशुको पोषण स्थितिमा सुधार ल्याउने उद्देश्यले गाउँपालिकाले गत वर्षदेखि उक्त कार्यक्रम सञ्चालन गरेको हो ।
‘पोषिलो आहार शिशुको स्याहार, स्वस्थ बालक स्वस्थ नागरिक’ भन्ने नारासहित गाउँपालिकाले कोसेली अभियानलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको छ । संस्थागत सुत्केरी बढाउन र मातृशिशु मृत्युदर घटाउन यो कार्यक्रमले निकै सहयोग गर्ने शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले बताइन् ।
उक्त कार्यक्रम अन्तरगत गर्भवती महिलाको घरमा झण्डा राख्ने, स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई पोषिलो खानेकुरा र सरसफाइ सामग्री भएको झोला दिने तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, अन्य जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरूसँग गर्भवती महिलाको अन्तरक्रिया सञ्चालन हुँदै आएको छ ।

यस्ता कार्यक्रमले गर्दा संस्थागत सुत्केरी हुनेको संख्या बढेको उपाध्यक्ष चन्दले दाबी गरिन् । उनले भनिन्, ‘गत वर्ष परीक्षणका रुपमा सञ्चालन गरेकामा प्रभावकारी देखिएकोले यो वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिएका हौं ।’ गाउँपालिकामा रहेका गर्भवती महिलाको घरमा दुई किसिमको झण्डा राख्ने गरिएको छ ।
गर्भवतीको स्वास्थ्य जाँच गरि सामान्य भएमा हरियो र कुनै किसिमको खतराका लक्षण देखिएमा रातो झण्डा राख्ने गरिएको छ । झण्डा राख्दा गर्भवती महिलाको घरपरिवारलाई जिम्मेवारीबोध हुने चन्दले सुनाइन् । उनले भनिन्, ‘स्थानीय सरकारको यस्तो कार्यक्रमले आमा तथा शिशु मृत्युदरमा समेत कमी आएको छ ।’
स्वास्थ्य सस्थामै सुत्केरी हुन आउने महिलालाई पोषण र सरसफाइ सामग्री भएको झोलामा ज्वानो, मेथी, शुद्ध तोरीको तेल, साबुन, नेलकटर, कोलगेट मेक्सी, पेन्टी लगायतका ११ सामग्री हुन्छन् । यसका साथै सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई पहाडी जिल्लाको हकमा २ हजार ८०० रुपैयाँ पनि दिने गरेको छ ।

गर्भवतीसँग जनप्रतिनिधि, स्वास्थ्यकर्मीले अन्तरक्रिया कार्यक्रम गर्ने भएकोले जनचेतना अभिवृद्धि गर्न पनि सहज भएको छ । घरमै सुत्केरी हुँदा विभिन्न खतरा हुनसक्ने, पोषिलो खानेकुरा सेवन गर्ने, स्वास्थ्यप्रतिको नकारात्मक सोचलाई चिर्न सफल भएका शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले बताए ।
कतिपय मान्छेमा अझैं पनि घरमै सुत्केरी भए पनि कुनै समस्या नहुँने गलत सोच रहेकोमा त्यस्तो नकारात्मक सोचलाई चिर्न पनि सफल भएको महताले दाबी गरे । उनले भने, ‘जनप्रतिनिधि र हामी स्वास्थ्यकर्मी स्वयं उपस्थित भएर अन्तरक्रिया गर्दा स्वास्थ्यप्रति सकारात्मक सोच ल्याउन सफल भएका छौं ।
संस्थागत प्रसूतिलाई थप प्रोत्साहन गरी मातृ मृत्यु तथा नवजात शिशु मृत्यु कम गर्न यो अभियान सञ्चालन गरेका हौं ।’ ‘स्वास्थ्यमा शान, शिवनाथको पहिचान’ नारा दिएर अन्तरक्रिया कार्यक्रम गरिएको गाउँपालिकाका अध्यक्ष कर्ण साउँदले बताए । कार्यक्रममा गर्भवती महिलाका नियमित स्वास्थ्य जाँच गर्ने बारेमा पनि जानकारी दिने गरिएको छ ।

सुत्केरीलाई उपाध्यक्षको कोसेली कार्यक्रमका लागि गाउँपालिकाले ८ लाख बजेट छुट्याएको थियो । शिवनाथ गाउँपालिकाले चालु आर्थिक वर्षभित्रै गाउँपालिकालाई घरमा हुने शून्य सुत्केरी तथा पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने लक्ष्य राखेको छ । ‘पूर्ण संस्थागत सुत्केरी हाम्रो लक्ष्य, स्वस्थ बालक सधैँ रहन्छ सभ्य’ भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरिएको हो ।
गाउँपालिकामा रहेका ६ वडामध्ये वडा नम्बर ३ लाई गत वर्ष नै पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको छ । वडा नम्बर २,४,५ र ६ बाट पूर्ण संस्थागत सुत्केरी घोषणा गर्न पत्र गाउँपालिकाको स्वास्थ्य शाखालाई प्राप्त भइसकेको महतले जानकारी दिए । वडाको पत्रअनुसार काम भए नभएको अनुगमन गरेर पूर्ण संस्थागत सुत्केरी घोषणा गरिने उनले जानकारी दिए ।
तथ्यांक अनुसार गत आर्थिक वर्षभन्दा यो वर्ष शिवनाथ गाउँपालिकामा गर्भवतीको संख्या झण्डै दोब्बरले बढेको छ । गत वर्ष स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या ३२१ रहेकोमा यो वर्ष असारसम्म सुत्केरी हुनेको संख्या ५८६ रहेको स्वास्थ्य शाखा प्रमुख महताले जानकारी दिए ।
।