बर्दिया । गत पुष १७ गते राती बर्दिया राष्ट्रिय निकुञ्ज अन्तरगत पर्ने राजमार्गमा गुडिरहेकै मोटरसाइकलमा आक्रमण गरी बाघले एक महिलाको ज्यान लियो । झण्डै २१ वर्षअघि २०५६ सालमा निकुञ्जको यही क्षेत्र आसपास राजमार्गमै बाघले मोटरसाइकलमा सवार कैलाली लम्कीका फिल्म हल साहुलाई आक्रमण गर्दा ज्यान गएको थियो ।
अहिले उस्तै प्रकृतिको घटना दोहोरिएपछि सबैको चासोको विषय बनेको छ बर्दिया राष्ट्रिय निकुञ्ज । निकुञ्ज अन्तरगत राजमार्गमा यात्रा गर्ने यात्रु र बाघको बेलाबेलामा जम्काभेट भइरहन्छ । बाघ र मानिसबीच भइरहेको जम्काभेट तथा क्षति मानव–वन्यजन्तु द्वन्द्वमा नयाँ जोखिम हो ।
फाल्गुण १७ गते निकुञ्जमा भैसी चराउन गएका राजापुर नगरपालिका–१० का ६५ वर्षीय लालबहादुर थारुको बाघको आक्रमणबाट ज्यान गयो । निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउपालिका–६ नौरंगाबाट बाघले झम्टेर लगेका थारुको शव करिव ६ सय मिटर टाढा क्षतविक्षत अवस्थामा फेला परेको थियो ।
बर्दियाको खाता करिडोर र गेरुवा गाउँपालिका क्षेत्रमा मात्रै एक वर्षयता बाघको आक्रमणबाट ६ जनाले ज्यान गुमाएका छन् । बाघको आतंक बढ्न थालेपछि बर्दिया राष्ट्रिय निकुञ्ज अन्तरगतको मध्यवर्ती क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।
स्थानीयबासीले मानिस खान पल्केको नरभक्षी बाघलाई नियन्त्रणमा लिन या मार्न प्रशासनसँग माग गरिरहेका छन् । संरक्षणकर्मीहरूले भने बर्दिया निकुञ्जमा संख्या बढेको र बासस्थान क्षेत्रमा पर्ने सडकमा बाघ निस्कनु स्वाभाविक रहेको बताइरहेका छन् ।
वन्यजन्तु पनि छैनन् सुरक्षित
फाल्गुन १५ गते मात्रै एम्बुलेन्सले ठक्कर दिँदा बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा पाटे बाघ घाइते भयो । पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने बर्दियाको बुढीखोला नजिक एम्बुलेन्सले ठक्कर दिँदा उक्त बाघ घाइते भएको थियो ।
नेपालगन्जबाट पश्चिमतर्फ गइरहेको से १ च २४२१ नम्बरको एम्बुलेन्सले बाघलाई ठक्कर दियो । एम्बुलेन्सले ठक्कर दिएलगत्तै एम्बुलेन्स चालकले नै बाघ घाइते भएको निकुञ्ज प्रशासनलाई जानकारी गराए । उक्त घाइते बाघ अझैसम्म पनि भेटिएको छैन, निकुञ्जले खोजी गरिरहेको जनाएको छ ।
बर्दिया निकुञ्जभित्र पर्ने पूर्व–पश्चिम राजमार्गमा सवारी साधनले ठक्कर दिँदा यसअघि २ वटा बाघ मारिएका छन् । यस्तै, यस आर्थिक वर्षमा प्राकृतिक कारणले चार वटा बाघ मरेको बर्दिया राष्ट्रिय निकुञ्जका रेन्जर पुषराज गोलेले बताए । चित्तल ३६ वटा, बँदेल ४ वटा, जरायो ५ वटा लगायतका अन्य थुप्रै साना प्रजातिका वन्यजन्तु मारिएका छन् ।
निकुञ्ज अन्तरगतको राजमार्गमा सवारी साधन तीव्र गतीमा चल्ने गरेका कारण सवारी साधनको ठक्करबाट वन्यजन्तुहरू मारिन्छन् । मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दा मात्रै होइन, जनावर पनि सुरक्षित नभएको बर्दिया निकुञ्जका सहायक वार्डेन असिमकुमार थापाले बताए ।
जोखिमबीच पनि संरक्षण मोह उस्तै
बर्दियामा बर्दिया राष्ट्रिय निकुञ्ज भएकै कारण प्रत्येक दिन जसो वन्यजन्तु आक्रमणका घटनाहरू सुनिन्छन् । तर पनि वन र वन्यजन्तु संरक्षणप्रति केही स्थानीयको मोह उस्तै छ । केही स्थानीयले बदलाको भावनाले वन्यजन्तुहरूसँग बदला लिएपनि वर्षौदेखि संरक्षण अभियानमा होमिँदै आएका संरक्षणकर्मीहरूको माया भने उस्तै देख्न सकिन्छ ।
वन्यजन्तुमैत्री संरचना निर्माणको चर्चा मात्रै
पछिल्लो केही समययता बर्दियामा वन्यजन्तुमैत्री संरचना निर्माणबारे चर्चा चलिरहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन र वन्यजन्तुसँग जोडिएका जुनसुकै सभा–सम्मेलन तथा गोष्ठीहरूमा संरक्षणकर्मीहरूले वन्यजन्तुमैत्री संरचनाकै कुरा गरिरहेका हुन्छन् ।
बाघ, जंगली हात्ती, गैँडा, चित्तल लगायत वन्यजन्तुहरू ओहोरदोहोर गर्ने बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने राजमार्गमा तत्काल वन्यजन्तुमैत्री सडक बनाउन संरक्षणकर्मीहरुले पटक–पटक माग समेत गर्ने गरेका छन ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने बर्दिया निकुञ्जको कर्णाली चिसापानीदेखि अम्रेनी पोष्ट र रम्मापुरदेखि सैनवार पोष्टसम्मको राजमार्ग क्षेत्रमा वन्यजन्तुमैत्री संरचना बनाउनुपर्ने र तत्कालका लागि निकुञ्जभित्रका राजमार्ग किनारको झाडी सफा गर्नुपर्ने संरक्षणकर्मीहरू पटक–पटक उठाउँछन् ।
तर, अहिले सम्म वन्यजन्तुमैत्री संरचना निर्माणका लागि कुनै कदम नै चालिएको छ, न त राजमार्ग छेउछाउको झाडी सफाइको काम नै शुरू भएको छ । निकुञ्जले झाडी सफाइको काम सडक डिभिजनले गर्ने बताउँदै आएको छ । सडक डिभिजनले भने निकुञ्जसँग सहकार्य गरेर झाडी गरिरहेको बताएपनि काम भने शुरू नभएको स्थानीय बताउँछन् ।
सडक विभागले बजार क्षेत्रमा पूर्व–पश्चिम राजमार्गको दायाँ–बायाँ ३१–३१ मिटर सडक खाली गराउँदै आएको छ । तर, निकुञ्जभित्र पर्ने राजमार्ग क्षेत्रमा भने दायाँ–बायाँ ३१–३१ मिटर सडक खाली गर्ने काम भने भएको छैन । निकुञ्जभित्रको राजमार्ग किनार आसपास रुख–बिरुवा र घाँसले ढाकेको छ । वन्यजन्तु त्यही घाँसमा बसिरहेका हुन्छन् ।
सवारीसाधनको आवाज सुनेपछि वन्यजन्तु तर्सिने र सवारी साधनमा आक्रमण गर्ने जोखिम हुन्छ । त्यसैले, अर्को वन्यजन्तुमैत्री संरचना नबनुन्जेलसम्म निकुञ्जभित्र पर्ने राजमार्ग किनारका रुख, विरुवा र घाँस तत्काल काट्न जरुरी रहेको संरक्षणकर्मी रमेश थापाको भनाई छ ।
बाघ हेर्न बर्दिया
आन्तरिक र बाह्य पर्यटकहरूले बाघ हेर्न बर्दिया राष्ट्रिय निकुञ्जलाई नै रोज्ने गर्छन् । यो निकुञ्जमा पछिल्लो समय बाघको संख्या पनि बढ्दै गएको छ । कोरोना महामारी फैलनु अघिका वर्षहरूमा बर्दिया निकुञ्जका आकर्षक बाघले स्वदेशी र विदेशी पर्यटकलाई मोहित पार्ने गरेको थियो ।
बाघ हेर्नकै लागि बर्दियामा पर्यटकको ओइरो लाग्थ्यो । तराई क्षेत्रको सबैभन्दा ठूलो संरक्षित क्षेत्र मानिने बर्दिया राष्ट्रिय निकुञ्ज ९६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । निकुञ्जको मध्यवर्ती सामुदायिक वन क्षेत्र ५०७ वर्ग किलोमिटर रहेको छ । जंगली हात्तीपछि बाघ अहिले आक्रामक बन्न थालेका छन् र जनधनमा क्षति पुर्याइरहेका छन् ।
।